कीवर्डहरू -

इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन

इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन

काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गराएको छ । अब प्रयोगकर्ताले पोस्टहरूलाई केवल प्रकाशित मितिका आधारमा होइन, आफूले चाहेअनुसार पुन: क्रमबद्ध (Reorder) गर्न सक्नेछन् ।

इन्स्टाग्रामले करिब एक वर्षअघि घोषणा गरेको यो फिचर अब विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । मेटाका अनुसार प्रयोगकर्ताको अनुभव सुधार गर्ने उद्देश्यले यो सुविधा विकास गरिएको हो ।

यसअघि इन्स्टाग्राममा पोस्टहरू प्रकाशित भएको मितिअनुसार मात्रै प्रोफाइल ग्रिडमा देखिन्थे । तर नयाँ अपडेटपछि प्रयोगकर्ताले आफ्ना पुराना वा नयाँ पोस्टहरूलाई इच्छाअनुसार सारेर प्रोफाइलको लेआउट मिलाउन सक्नेछन् । यसले विशेष गरी कन्टेन्ट क्रिएटर, व्यवसाय तथा आफ्नो प्रोफाइलको सौन्दर्यमा ध्यान दिने प्रयोगकर्तालाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रोफाइल ग्रिड पुन: क्रमबद्ध गर्ने सुविधा इन्स्टाग्राममा लामो समयदेखि सबैभन्दा बढी माग गरिएका फिचरमध्ये एक मानिन्छ । मेटाले यसलाई विकास गर्ने योजना पहिले नै बनाएको थियो र गत वर्ष यसको औपचारिक घोषणा गरिएको थियो ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा गएर कुनै पोस्टलाई लामो समय थिच्नुपर्छ । त्यसपछि देखिने विकल्पहरूमा “Pin to Main Grid” र “Archive” सँगै “Reorder Grid” विकल्प उपलब्ध हुनेछ । उक्त विकल्प चयन गरेपछि नयाँ विन्डो खुल्नेछ, जहाँ पोस्टहरूलाई ड्र्याग एन्ड ड्रप गरेर आफूले चाहेअनुसार क्रम मिलाउन सकिन्छ ।

यद्यपि, पिन (Pin) गरिएका पोस्टहरू भने प्रोफाइलको माथिल्लो भागमा स्थायी रूपमा रहनेछन् । “Reorder Grid” मोडमा ती पोस्टहरू फरक रूपमा देखाइने भएकाले प्रयोगकर्ताले अन्य पोस्टहरूको स्थान सजिलै व्यवस्थापन गर्न सक्नेछन् । इन्स्टाग्रामको यो नयाँ अपडेटले प्रयोगकर्तालाई आफ्नो प्रोफाइललाई थप व्यक्तिगत, व्यवस्थित र आकर्षक बनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।