कीवर्डहरू -

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिन थाल्यो ।

श्रेयालाई मानसिक स्वास्थ्य परामर्श लिनुपर्ने भयो तर अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने राम्रो नेपाली प्लेटफर्म खोज्न सुरू गरिन् तर कतै भेटाइनन् ।

त्यसपछि बेलायत उनी नेपाल आइन् र सुरू गरिन् ‘ह्याप्पी माइन्ड्स’ । ह्याप्पी माइन्ड्स अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो ।

विश्ववको जुनसुकै ठाउँमा रहेका नेपालीलाई मानसिक स्वास्थ्य सम्बन्धि परामर्श दिन ह्याप्पी माइन्ड्स सुरू गरेको कम्पनीकी संस्थापक तथा प्रबन्ध निर्देशक श्रेया गिरीले बताइन् ।

‘बेलायतमा पढ्दै गर्दा कोभिड सुरू भयो । त्यसबेला आफ्नै मानसिक स्वास्थ्यको अवस्था बिग्रदै जाँदा मलाई मानसिक स्वास्थ्य परामर्शको खाँचो भयो,’ उनले आइसिटी समाचारसँग भनिन्, ‘तर खोज्दै जाँदा अनलाइनमा नेपाली परामर्शकर्ता भेटाउन धेरै गार्‍हो भयो र त्यही समस्यालाई समाधान गर्न ह्याप्पी माइन्ड्स सुरू भएको हो ।’

\"\"

संस्थापक, श्रेया गिरी

पछिल्लो समय विश्वभर मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । आउँदा वर्षमा यो समस्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रसंघले समेत दिगो विकासको लक्ष्यमा मानसिक स्वास्थ्यलाई समावेश गरिसकेको छ ।

नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ । आमा बुबालाई पनि आफ्नो बच्चाको मानसिक स्वास्थ्यलाई कसरी राम्रो बनाउने भन्ने कुरा थाहा छैन् ।

सुत्न नसक्ने, लागु पदार्थको सेवन, डर, चिन्ता जस्ता समस्या युवा पुस्तामा देखिरहेका छन् । हेर्दा सामान्य देखिपनि यी लक्ष्णले मानसिक स्वास्थ्य समस्या हुन सक्ने संकेत गर्छन् ।

नेपालमा प्रत्येक दिन २ जनासम्म टिनएजरले (१३ देखि १९ वर्षसम्मका बच्चा) आत्महत्याको प्रयास गर्ने गरेको श्रेया बताउँछिन् । पर्याप्त मात्रामा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रम गर्न नसक्दा यस्ता समस्या अझै बढ्ने निश्चित छ ।

ह्याप्पी माइन्ड्सले पनि मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनाका कार्यक्रम गरिरहेको छ । मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनाका भिडियो सामाजिक सञ्जालबाट प्रसारण गरिरहेको छ ।

कर्पोरेट हाउस, शैक्षिक संस्था, एनजीओ, आईएनजीओ लगायतसँग समेत कम्पनीले सहकार्य गरेको छ । जनचेतनामार्फत ३५ हजार बढीमा प्रभाव छोड्न सफल भएको कम्पनीको दावी छ ।

\"\"

मेन्टल हेल्थ एण्ड वेलबिङ प्लेटफर्म ह्याप्पी माइन्ड्सले साइकोसोसियल अवेयरनेसिङ कार्यक्रम गर्ने र मेन्टल हेल्थ प्रोफेसनलसँग जोड्ने उनले बताइन् ।

ह्याप्पी माइन्ड्ससँग अहिले पार्ट टाइम र फुल टाइम गरी १५ जना मेन्टल हेल्थ प्रोफेसनल जोडिएका छन् । सुरूमा सुरूमा अनलाइनबाट पनि मान्छेहरू मानसिक स्वास्थ्य परामर्श लिन आउँछन् र भन्ने प्रश्न गर्ने गरेको अनुभव उनले सुनाइन् । तर अहिले अवस्थामा फेरिएको छ ।

५ हजार बढी व्यक्तिले ह्याप्पी माइन्ड्सबाट परामर्श लिइसकेका छन् । मानसिक समस्या भएकाहरूलाई उनीहरूको आवश्यकता र सहजता अनुसार ह्याप्पी माइन्ड्सले परामर्श दिदै आएको छ ।

अपोइन्टमेन्ट लिनु अगाडि कम्पनीले समस्या भएको कति समय भयो, कस्तो सपोर्ट चाहिएको छ, थेरापिष्टमा पुरूष चाहिन्छ की महिला, सेवा अनलाइन लिने की अफलाइन, बिहान वा बेलुका कुन समयमा परामर्श लिने लगायतका प्रश्न सोध्छ ।

ती प्रश्नको जवाफ आएपछि थेरापिष्टसँग अपोइन्टमेन्ट पाइने छ । उक्त अपोइन्टमेन्ट १ घण्टासम्मको हुन्छ । त्यहाँ मन खोलेर कुरा राख्न सकिन्छ । त्यो कुरा तपाई र थेरापिस्टबीच मात्रै रहनेछ । आफुहरूले डेटा सुरक्षा धेरै ध्यान दिएको श्रेयाले बताइन् ।

‘व्यक्तिको डेटा सुरक्षामा हामीले ध्यान दिएका छौं,’ उनी भन्छिन्, ‘ह्याप्पी माइन्ड्सले बेलायतको गाइडलाइनमा रहेर सेवा सञ्चालन गरिरहको छ । हामी सेवा दिँदा व्यक्तिको पुरा नाम पनि खुलाउँदैनौं ।’

तर यदी मानसिक समस्यामा भएको कुनै पनि व्यक्तिले आफु वा अरूलाई कुनै पनि किसिमको हानी वा नोक्सान पुर्‍याउन सक्ने अवस्थामा परिवार वा सम्बन्धित व्यक्तिलाई जानकारी दिने गर्दछ । त्यस्तो अवस्था बाहेक अन्य कुनै पनि अवस्थामा व्यक्तिगत डेटा सुरक्षित रहने र ढुक्कसँग परामर्श सेवा लिन कम्पनीको आग्रह छ ।

\"\"

३ जनाबाट सुरू भएको ह्याप्पी माइन्ड्स करिब २ वर्षको समयमा २० जनाले काम गरिरहेका छन् । ह्याप्पी माइन्ड्सले २४ सै घण्टा सञ्चालन हुने हटलाइन सेवा समेत सञ्चालन गरिरहेको छ ।

हटलाइन सेवा कम्पनी स्थापना भएको ६ महिना नपुग्दै सुरू भएको थियो । सुरू सुरूमा कसैलाई तत्कालै सहयोग गर्न नसक्दा हटलाइन सुरू गर्ने योजना आएको श्रेयाको भनाइ छ ।

‘सुरूवातमा कसैले एकदमै गार्‍हो भएको छ । नराम्रो नराम्रो सोच आइरहेको छ भन्नुहुन्थ्यो ,’ श्रेया भन्छिन्, ‘अहिलेनै सहयोग चाहियो भन्दा हामी यहाँ यहाँ फोन गर्नुस् भनेर डाइभर्ट गर्नुपर्थ्यो । यसैलाई समाधान गर्न हटलाइन सुरू गरेका हौं ।’

अहिले साझेदार संस्थाहरूलाई मात्रै हटलाइन सेवा सुविधा उपलब्ध छ । भविष्यमा अन्य प्रयोगकर्तालाई पनि उपलब्ध हुन सक्ने छ ।

कम्पनीका अनुसार ह्याप्पी माइन्ड्सबाट परामर्श लिएका व्यक्तिहरूको प्रतिक्रिया राम्रो छ । सेवा लिएकाहरूले अरूलाई पनि रिफर गरिरहेको कम्पनीको भनाइ छ ।

कम्पनीले व्यक्तिको आवश्यकता अनुसार थेरापिष्ट प्रदान गर्दै आएको छ । यदी कुनै पनि व्यक्तिलाई पनि मानसिक समस्यामा हुन थालेको छ वा भएको छ भने ह्याप्पी माइन्ड्सको वेबसाइटमा राखिएको नम्बरमा कल गर्न वा त्यहाँ भएको फाराम भर्न सकिन्छ ।

इन्स्टाग्राम , युट्युब, टिकटक , लिंक्डइन , ट्विटर, फेसबुक सबै प्लेटफर्ममा म्यासेज पनि गर्न सकिने छ । ‘तपाईले परामर्श नै लिनुपर्छ भन्ने छैन् । कुरा गर्नलाई मान्छे चाहियो भनेर म्यासेज गर्नुभयो भने हामी सहयोग गर्न छौं,’ श्रेया खुसी हुँदै भन्छिन् ।