कीवर्डहरू -

युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने

युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने

काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्यवस्था लागू गरेको छ । धेरै च्यानलमा सदस्यता लिँदा सूचनाहरू अत्यधिक भएर अव्यवस्थित बन्ने समस्या समाधान गर्न कम्पनीले यस्तो कदम चालेको हो । नयाँ व्यवस्थाअनुसार पछिल्लो एक महिनासम्म कुनै पनि अन्तर्क्रिया नगरेका च्यानलहरूबाट आउने नोटिफिकेशन अब स्वतः म्यूट हुनेछन् ।

यो सुविधा यस वर्षको सुरुवातमा परीक्षणका रूपमा सुरु गरिएको थियो, जुन अब विस्तार गर्दै लागू गरिएको हो । कम्पनीका अनुसार प्रयोगकर्ताले अनावश्यक सूचनाबाट हैरान भएर सबै नोटिफिकेशन बन्द गर्ने प्रवृत्ति बढ्दै गएकोले यस्तो निर्णय लिइएको हो । यसले प्लेटफर्मको प्रयोग तथा आम्दानीमा असर पार्न सक्ने भएकाले सन्तुलित समाधान खोजिएको बताइएको छ ।

अब ‘All’ नोटिफिकेशन सेट गरेका च्यानलहरूबाट पनि यदि प्रयोगकर्ताले एक महिनासम्म कुनै गतिविधि देखाएका छैनन् भने, ती च्यानलका सूचनाहरू मोबाइलमा पठाइने छैनन् । तर ती नोटिफिकेशनहरू एपभित्रको इनबक्स (घण्टी चिन्ह) मा भने उपलब्ध रहनेछन् ।

कम्पनीका अनुसार सक्रिय रूपमा भिडियो हेर्ने वा सूचनामा क्लिक गर्ने प्रयोगकर्ताका लागि यो परिवर्तन लागू हुने छैन । साथै, कम मात्रामा भिडियो अपलोड गर्ने च्यानलहरू पनि यसबाट प्रभावित नहुने बताइएको छ ।

विशेष गरी लामो समय लगाएर सामाग्री तयार गर्ने क्रिएटरहरूका लागि यो व्यवस्था उपयोगी मानिएको छ, किनकि दुर्लभ रूपमा आउने सामाग्रीको सूचना हराउनु नपरोस् भन्ने उद्देश्य राखिएको छ ।

यद्यपि, लामो समयपछि पुनः च्यानलसँग अन्तर्क्रिया सुरु गर्दा सूचनाहरू स्वतः पुनः सक्रिय हुने वा नहुनेबारे कम्पनीले स्पष्ट पारेको छैन । यो नयाँ प्रणालीले मोबाइलमा आउने अत्यधिक नोटिफिकेशनको भीड घटाउँदै प्रयोगकर्तालाई व्यवस्थित र सन्तुलित अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।