कीवर्डहरू -

सार्वजनिक हुनुअघि सरकारी सिस्टमको सुरक्षा परीक्षण, इथिकल ह्याकरले ह्याक गर्ने

सार्वजनिक हुनुअघि सरकारी सिस्टमको सुरक्षा परीक्षण, इथिकल ह्याकरले ह्याक गर्ने

काठमाडौं । सरकारी डिजिटल प्रणालीमा हुन सक्ने साइबर जोखिम पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहभागितामा ‘लाइभ ह्याकिङ’ कार्यक्रम आयोजना हुने भएको छ ।

पेन्टेस्टर नेपालको १३ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंस्थित हेराल्ड कलेजमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री कार्यालयले विकास गरिरहेको, तर हालसम्म सार्वजनिक नगरिएको डिजिटल प्रणालीको प्रत्यक्ष सुरक्षा परीक्षण गरिनेछ ।

सार्वजनिक सञ्चालनमा ल्याउनुअघि नै प्रणालीमा रहेका सम्भावित कमजोरी पहिचान गरी सुधार गर्ने उद्देश्यले परीक्षण गर्न लागिएको हो । यसका लागि देशभरका दक्ष साइबर सुरक्षा अनुसन्धानकर्ता तथा इथिकल ह्याकरलाई कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रम आधिकारिक ‘भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ अन्तर्गत सञ्चालन हुनेछ । सहभागी अनुसन्धानकर्ताले सरकारी प्रणालीको संवेदनशीलतालाई ध्यानमा राख्दै अनिवार्य रूपमा गोपनीयता सम्झौता (एनडीए) गर्नुपर्नेछ । उनीहरूले आयोजकले तोकेको निश्चित दायरा र यूआरएलभित्र रहेर मात्रै सुरक्षा परीक्षण गर्न पाउनेछन् ।

परीक्षणका क्रममा सरकारी प्रणालीका सुरक्षा कमजोरी सफलतापूर्वक पहिचान गरी सुधारमा योगदान पुर्‍याउने अनुसन्धानकर्तालाई प्रधानमन्त्री कार्यालय तथा आयोजकका तर्फबाट डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट योगदानकर्तालाई ‘हल अफ फेम’ तथा लिडरबोर्डमार्फत समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम छोटो समयमै तय भएकाले यसपटक नगद पुरस्कारको व्यवस्था नगरिएको जनाइएको छ। यद्यपि, सरकारी निकाय आफैँले साइबर सुरक्षा परीक्षणमा इथिकल ह्याकरलाई सहभागी गराउनु सकारात्मक कदम भएको आयोजकको भनाइ छ ।

पेन्टेस्टर नेपालको १३ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममध्ये लाइभ ह्याकिङलाई मुख्य आकर्षणका रूपमा राखिएको छ । कार्यक्रम आज बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।