अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढ्दै जाँदा प्रयोगकर्ताहरूले नयाँ एपतर्फ मोडिन थालेका छन्, जसको नाम रेडनोट हो । यो एप प्रयोगकर्ताहरूको नयाँ गन्तव्य बन्दैछ । यो एक भिडियो–साझेदारी एप हो, जुन बाइटडान्सको टिकटकजस्तै देखिन्छ ।
यो एपमा भर्टिकल फर्म्याटमा छोटो समयका सामग्रीहरू नै पोष्ट गरिन्छ । अमेरिकामा टिकटकमा प्रतिबन्ध लागेपछि रेडनोट एपको डाउनलोड र साइनअपमा निरन्तर वृद्धि भइरहेको छ । प्रयोगकर्ताहरूले यो एप धेरै मन पराइरहेका छन् ।
रेडनोट एपलाई चीनमा सांगहोसु नामले पनि चिनिन्छ । रेडनोट सामाजिक सञ्जाल एपलाई शाङ्घाईस्थित जिंगइन इन्फर्मेसन टेक्नोलोजी कम्पनीले विकास गरेको हो । यो एपलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो एप पूर्ण रूपमा निःशुल्क छ ।
टेकक्रन्चको एक रिपोर्टअनुसार, अमेरिकामा डाउनलोड संख्या बढ्दै जाँदा रेडनोट एप पहिले नै एप स्टोरमा नम्बर एक एप बनिसकेको छ ।
टिकटकमा आफ्नो सामग्री गुम्ने डरले प्रयोगकर्ताहरू अर्को चिनियाँ एप रेडनोट प्रयोग गर्न थालेका छन् । यदि रेडनोट एप पनि टिकटकजस्तै लोकप्रिय भएमा यसले पनि उस्तै प्रकारको अनुसन्धान र प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्छ ।
रेडनोटमा साइन अप गर्नका लागि प्रयोगकर्ताहरू आफ्नो फोन नम्बर, फेसबुक अकाउन्ट, वा गुगल अकाउन्टको प्रयोग गर्न सक्छन् । साइन अप गरेपछि प्रयोगकर्ताहरूले आफ्ना टाइमलाइनमा विषयगत भिडियोहरू प्राप्त गर्नका लागि विभिन्न शैलीहरू चयन गर्नुपर्नेछ । टिकटक वा अन्य छोटो भिडियो प्लेटफर्महरूजस्तै, प्रयोगकर्ताहरूले भिडियो लाइक, कमेन्ट, सेयर, र अफलाइन हेर्नका लागि डाउनलोड गर्न सक्नेछन् ।