कीवर्डहरू -

क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

क्वान्टम साइबर आक्रमणबाट नेटवर्क जोगाउन तोशिबाले ल्यायो नयाँ सुरक्षा प्लेटफर्म

काठमाडौं । जापानी प्रविधि कम्पनी तोशिबाले भविष्यमा क्वान्टम कम्प्युटरबाट हुन सक्ने साइबर आक्रमणको जोखिम कम गर्न क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म सार्वजनिक गरेको छ । यसले विद्यमान नेटवर्क संरचना परिवर्तन नगरी क्वान्टम-सुरक्षित सञ्चार प्रणाली विस्तार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

नयाँ प्लेटफर्म इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक, डाटा सेन्टर सञ्चालक, निजी क्षेत्रका कम्पनी र सरकारी निकायलाई लक्षित गरी विकास गरिएको हो । यसमार्फत सुरुमा संवेदनशील तथा महत्त्वपूर्ण डाटा आदानप्रदान हुने नेटवर्क सुरक्षित बनाउन र आवश्यकताअनुसार अन्य स्थान तथा नेटवर्कमा समेत सुरक्षा विस्तार गर्न सकिने तोशिबाको भनाइ छ ।

कम्पनीका अनुसार प्लेटफर्मले क्वान्टम-सुरक्षित नेटवर्क निर्माण तथा सञ्चालनलाई सरल बनाउनुका साथै उपकरणको संख्या, व्यवस्थापनको जटिलता र खर्च घटाउने लक्ष्य राखेको छ । यसका लागि हाल प्रयोगमा रहेका नेटवर्क संरचना पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने छैन ।

क्वान्टम कम्प्युटिङको विकाससँगै अहिले प्रयोग भइरहेका कतिपय इन्क्रिप्सन प्रणाली भविष्यमा कमजोर हुन सक्ने चिन्ता बढिरहेको छ । विशेष गरी, साइबर आक्रमणकारीले अहिले नै इन्क्रिप्ट गरिएको डाटा संकलन गरेर भविष्यमा शक्तिशाली क्वान्टम कम्प्युटरको सहायताले त्यसलाई डिक्रिप्ट गर्ने जोखिमलाई ‘हार्भेस्ट नाउ, डिक्रिप्ट लेटर’ भनिन्छ ।

यस्तो जोखिमले दीर्घकालीन रूपमा गोप्य राख्नुपर्ने वित्तीय, सरकारी तथा व्यावसायिक डाटाको सुरक्षामा चुनौती सिर्जना गर्न सक्छ । टेलिकम्स डटकमका अनुसार तोशिबाको नयाँ प्लेटफर्मले यस्ता जोखिमलाई सम्बोधन गर्न विभिन्न क्वान्टम-सुरक्षा प्रविधिलाई एउटै नेटवर्किङ प्रणालीमा समेटेको छ ।

प्लेटफर्ममा पोस्ट-क्वान्टम क्रिप्टोग्राफी (पीक्यूसी), क्वान्टम की डिस्ट्रिब्युसन (क्यूकेडी) र क्वान्टम र्‍यान्डम नम्बर जेनेरेसन (क्यूआरएनजी) लगायतका प्रविधि समावेश छन् । यी प्रविधिले फरक-फरक तरिकाले सञ्चार तथा डाटाको सुरक्षा बलियो बनाउन सहयोग गर्छन् ।

पोस्ट-क्वान्टम क्रिप्टोग्राफीले भविष्यका क्वान्टम कम्प्युटरबाट समेत प्रतिरोध गर्न सक्ने गरी तयार गरिएका क्रिप्टोग्राफिक विधि प्रयोग गर्छ भने क्वान्टम की डिस्ट्रिब्युसनले क्वान्टम सिद्धान्तका आधारमा सुरक्षित क्रिप्टोग्राफिक साँचो आदानप्रदान गर्न सहयोग गर्छ ।

तोशिबाले प्लेटफर्ममा प्रयोग हुने ट्रान्ससिभर र हबलाई नेटवर्क सञ्चालन सहज बनाउने प्रमुख संरचनाका रूपमा प्रस्तुत गरेको छ । ट्रान्ससिभरले एउटै उपकरणबाट डाटा पठाउने र प्राप्त गर्ने दुवै काम गर्छ । त्यस्तै, हबले अप्टिकल स्विचिङ प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा रहेका नेटवर्कलाई जोड्न सक्छ ।

यसले परम्परागत नेटवर्कमा दुई स्थानबीचको प्रत्येक सम्पर्कका लागि छुट्टाछुट्टै उपकरण राख्नुपर्ने आवश्यकता घटाउन सक्ने कम्पनीको दाबी छ । एउटै उपकरणबाट धेरै ग्राहक तथा नेटवर्क बिन्दुलाई सेवा दिन सकिने भएकाले सेवा प्रदायकले नयाँ क्वान्टम-सुरक्षित सेवा विकास गर्न र आम्दानीका थप अवसर सिर्जना गर्न पनि सक्नेछन् ।

तोशिबाका सूचना तथा सञ्चार प्रविधि समाधान विभागका उपाध्यक्ष हिरोशी सुकिनोले क्वान्टम-सुरक्षित प्रविधितर्फको रूपान्तरणलाई क्रिप्टोग्राफीको इतिहासमा महत्त्वपूर्ण परिवर्तनका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यस्तो परिवर्तन तत्काल पूरा गर्न सम्भव नहुने भएकाले संस्थाहरूले अहिलेबाटै आफ्ना महत्त्वपूर्ण नेटवर्क र डाटाको सुरक्षा सुधार गर्न थाल्नुपर्छ ।

उनले भविष्यमा साइबर जोखिम, सुरक्षा मापदण्ड र सञ्चालनसम्बन्धी आवश्यकता परिवर्तन हुन सक्ने भएकाले समयअनुसार सुरक्षा विस्तार गर्न मिल्ने योजना आवश्यक रहेको बताएका छन् ।

त्यस्तै, तोशिबा युरोपका उपाध्यक्ष तथा क्वान्टम प्रविधि विभागका प्रमुख एन्ड्र्यु सिल्ड्सले ठूलो नेटवर्कमा क्वान्टम-सुरक्षा विस्तार गर्दा लाग्ने खर्च र प्राविधिक जटिलता कम गर्न नयाँ प्लेटफर्म उपयोगी हुने बताएका छन् । उनका अनुसार एउटै उपकरणमार्फत धेरै नेटवर्क बिन्दु र ग्राहकलाई सेवा दिन सकिने हुँदा छुट्टाछुट्टै उपकरणमा निर्भरता घटाउन सकिन्छ ।

तोशिबाले यसअघि पनि क्वान्टम-सुरक्षित नेटवर्किङ सेवाको व्यावसायिक प्रयोग अघि बढाएको थियो । कम्पनीले गत वर्ष ओरेन्ज बिजनेससँग सहकार्य गर्दै फ्रान्सको पेरिसमा ‘ओरेन्ज क्वान्टम डिफेन्डर’ नामक सेवा सुरु गरेको थियो । उक्त सेवा ओरेन्जको विद्यमान व्यावसायिक फाइबर नेटवर्कमार्फत तोशिबाको क्वान्टम की डिस्ट्रिब्युसन प्रविधि प्रयोग गरेर उपलब्ध गराइएको थियो ।

उक्त सेवामा हार्डवेयरमा आधारित क्वान्टम की डिस्ट्रिब्युसन र सफ्टवेयरमा आधारित पोस्ट-क्वान्टम क्रिप्टोग्राफीलाई संयुक्त रूपमा प्रयोग गरिएको थियो । यसको उद्देश्य संवेदनशील डाटाको सुरक्षा गर्नुका साथै भविष्यमा पनि डाटाको गोपनीयता कायम राख्नु थियो ।

नयाँ क्यूएसएन प्लेटफर्ममार्फत तोशिबाले यसअघि परीक्षण तथा सीमित व्यावसायिक प्रयोगमा रहेका क्वान्टम-सुरक्षा समाधानलाई अझ ठूलो स्तरमा विस्तार गर्न खोजेको देखिन्छ । क्वान्टम कम्प्युटिङको विकाससँगै दीर्घकालीन डाटा सुरक्षाको चुनौती बढिरहेका बेला यस्तो प्रविधि दूरसञ्चार, वित्तीय सेवा, सरकारी प्रणाली र डाटा सेन्टरका लागि महत्त्वपूर्ण बन्न सक्ने अपेक्षा गरिएको छ ।