कीवर्डहरू -

ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने

ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने

काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ सुविधा सार्वजनिक गरेको छ । यसअघि फोटो र भिडियोका लागि मात्र उपलब्ध रहेको ‘भ्यू वन्स’ फिचरलाई अब टेक्स्ट मेसेजमा पनि विस्तार गरिएको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताले पठाएका टेक्स्ट सन्देशहरू प्राप्तकर्ताले एक पटक पढेपछि च्याटबाट स्वतः हट्नेछन् । यसले संवेदनशील वा गोप्य जानकारी सुरक्षित रूपमा आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ह्वाट्सएपका अनुसार ‘भ्यू वन्स’ मोडमा पठाइएका सन्देशहरू प्राप्तकर्ताले फर्वार्ड, कपी वा सेभ गर्न सक्ने छैनन् । साथै, यस्ता सन्देशहरूको स्क्रिनसट लिन पनि नपाइने व्यवस्था गरिएको छ, जसले गोपनीयता थप मजबुत बनाउने कम्पनीको दाबी छ ।

प्रयोगकर्ताले सन्देश टाइप गरेपछि ‘सेन्ड’ बटनलाई लामो समय थिचेर यो विशेष विकल्प छनोट गर्न सक्नेछन् । त्यसपछि पठाइएको सन्देश एक पटक हेरिसकेपछि स्वतः मेटिनेछ ।

मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले यो सुविधा विशेष गरी बैंक विवरण, पासवर्ड, ठेगाना तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी पठाउन उपयोगी हुने जनाएको छ ।

डिजिटल सुरक्षा प्रति बढ्दो चासोका बीच यो अपडेटलाई प्रयोगकर्ताको गोपनीयता संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यो नयाँ सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्मका प्रयोगकर्ताका लागि क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ ।