काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading” नामक फीचर ल्याउने तयारी गरेको छ । यो नयाँ फिचरले हाल उपलब्ध disappearing messages प्रणालीलाई अझ स्मार्ट र नियन्त्रण योग्य बनाउने अपेक्षा गरिएको छ ।
हाल प्रयोगकर्ताले २४ घण्टा, ७ दिन वा ९० दिनजस्ता निश्चित समय सीमा तोकेर मेसेज आफैं हराउने सेटिङ प्रयोग गर्न सक्छन् । तर नयाँ “After Reading” विकल्पमा भने टाइमर मेसेज पठाउने बित्तिकै होइन, बरु प्राप्तकर्ताले मेसेज पढेपछि मात्र सुरु हुने व्यवस्था हुनेछ ।
यसको अर्थ, प्रयोगकर्ताले पठाएको संवेदनशील वा निजी जानकारी प्राप्तकर्ताले खोलेर हेरेपछि मात्र निर्धारित समयपछि स्वत: हराउनेछ । यसले गोपनीयता नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
रिपोर्टअनुसार यो सुविधा WhatsApp Beta for Android 2.26.15.11 अपडेटमा परीक्षण चरणमा देखिएको हो । प्राविधिक विश्लेषण संस्था WABetaInfo का अनुसार कम्पनीले यसमा सक्रिय रूपमा काम गरिरहेको छ र आगामी दिनमा प्रयोगकर्ताका लागि उपलब्ध गराइने सम्भावना छ ।
साथै, कम्पनीले केवल “After Reading” मात्र होइन, थप टाइमर विकल्पहरू पनि ल्याउने तयारी गरिरहेको बताइएको छ । हालका निश्चित समय विकल्पहरूमा ५ मिनेट, १ घण्टा र १२ घण्टा जस्ता छोटा समय सेटिङ थपिन सक्ने अनुमान गरिएको छ ।
उदाहरणका लागि, यदि प्रयोगकर्ताले ५ मिनेट टाइमर रोजेमा, मेसेज पढेपछि ५ मिनेटभित्र त्यो मेसेज स्वत: मेटिनेछ । यदि प्राप्तकर्ताले मेसेज ढिला खोलेको खण्डमा, पढेपछि मात्र काउन्टडाउन सुरु हुनेछ ।
कम्पनीले प्रेषक (sender) र प्राप्तकर्ता (receiver) बीच टाइमिङ फरक हुन सक्ने सम्भावनामा पनि काम गरिरहेको बताइएको छ, जसले दुवै पक्षलाई थप नियन्त्रण दिन सक्छ ।
यो फिचर विशेष गरी OTP, बैंकिङ विवरण, निजी कागजात वा संवेदनशील जानकारी सेयर गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । यसले अनावश्यक रूपमा मेसेज लामो समयसम्म स्टोर भएर रहने समस्या कम गर्नेछ ।
हाल यो सुविधा विकास चरणमा छ र सर्वसाधारण प्रयोगकर्ताका लागि उपलब्ध भएको छैन । पहिले यसलाई सीमित बीटा प्रयोगकर्तामा परीक्षण गरिनेछ र सफल परीक्षणपछि मात्र विश्वव्यापी रूपमा रोलआउट हुने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार