काठमाडौं । मेटाले वर्षौंदेखि विश्वभरका साना, मझौला तथा ठूला व्यवसायहरूका लागि व्हाट्सएपलाई सञ्चार माध्यमका रूपमा प्रयोग गर्दै आएको छ । अब कम्पनीले यही प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) थप्दै व्हाट्सएपलाई साना तथा मझौला व्यवसायहरूका लागि कार्यप्रवाह (वर्कफ्लो) सफ्टवेयरका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ ।
मेटाले आफ्नो ग्राहक सहायता एआई बोट, जसलाई अब ‘मेटा बिजनेस एजेन्ट’ नाम दिइएको छ, व्हाट्सएप बिजनेसमा विश्वव्यापी रूपमा उपलब्ध गराएको घोषणा गरेको छ । यसअघि कम्पनीले भारत र मेक्सिकोसहित केही देशहरूमा करिब दुई वर्षसम्म उक्त एआई एजेन्टको परीक्षण गरेको थियो ।
यो एआई एजेन्टले ग्राहकका प्रश्नहरूको जवाफ दिन, उत्पादनहरू सिफारिस गर्न, सम्भावित ग्राहक पहिचान गर्न तथा आवश्यक परेमा जिज्ञासाहरूलाई मानव प्रतिनिधिसम्म पुर्याउन सक्छ । मेटाले यो सुविधा अब इन्स्टाग्राम डाइरेक्ट मेसेजमा पनि उपलब्ध गराउन थालेको जनाएको छ ।
कम्पनीका अनुसार एआई एजेन्टले रातभर भएका ग्राहक संवादहरूको दैनिक सारांश तथा उपयोगी इनसाइट्स प्रदान गर्न सक्ने सुविधा पनि परीक्षण गरिरहेको छ । यो सुविधा हाल चयनित खाताहरूमा व्हाट्सएप बिजनेस, इन्स्टाग्राम प्रो, मेसेन्जर र मेटा बिजनेस सुइटमार्फत परीक्षण चरणमा रहेको छ ।
मेटाले भविष्यमा बजार अनुसन्धान गर्ने, उत्पादनका विशेषताहरू प्रस्तुत गर्ने, प्रयोगकर्ताको क्यालेन्डर व्यवस्थापन गर्ने तथा प्रतिस्पर्धासम्बन्धी जानकारी संकलन गर्न अन्य टुलहरूसँग एकीकृत हुनेजस्ता नयाँ क्षमताहरू थप्ने तयारी पनि गरिरहेको छ ।
कम्पनीले यो एआई एजेन्ट प्रयोग गरेबापत व्यवसायहरूबाट शुल्क लिने योजना बनाएको छ । उक्त सुविधा WhatsApp Business Premium का केही तहहरूमा समावेश गरिनेछ । मेटाका अनुसार ठूला व्यवसायहरूले एआई एजेन्ट प्रयोग गर्दा प्रयोग भएका टोकनको आधारमा शुल्क तिर्नुपर्नेछ ।
यो कदम व्हाट्सएपका लागि महत्वपूर्ण मानिएको छ, किनभने हालसम्म कम्पनीको आम्दानीको मुख्य स्रोत व्यवसायिक सन्देश सेवा (Business Messaging) र ‘क्लिक-टु-व्हाट्सएप’ विज्ञापनहरू रहँदै आएका छन् ।
आईसीटी समाचार