आईएसपी
कागजमा सस्तो इन्टरनेट, बजारमा किन महँगो प्याकेज मात्रै ?
काठमाडौं । केही वर्षअघिसम्म घरमा इन्टरनेट जडान गर्ने क्रममा उपभोक्तासँग धेरै विकल्प हुन्थे- आफूलाई कति गति आवश्यक छ, कति खर्च गर्न सकिन्छ र कति अवधिका लागि सेवा चाहिन्छ भन्ने आधारमा प्याकेज छनोट गर्न सकिन्थ्यो ।
कम इन्टरनेट चलाउने परिवारले सस्तो प्याकेज लिन सक्थे भने विद्यार्थी वा साना व्यवसायीले आफ्नो आवश्यकताअनुसार मध्यम गतिको सेवा रोज्न सक्थे । तर अहिले इन्टरनेट बजारको तस्वीर बदलिँदै गएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूले ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेटका सस्ता प्याकेज बिक्री तथा नवीकरण बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएपछि कम खर्चमा इन्टरनेट चलाउन चाहने उपभोक्ताका लागि विकल्प साँघुरिएको छ । कतिपय ठूला सेवाप्रदायकले त कम गति मात्र होइन, छोटो अवधिका प्याकेजसमेत हटाएर लामो अवधिका र तुलनात्मक रूपमा महँगा प्याकेजलाई प्राथमिकता दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १६ असोजमा जारी गरेको सूचनामार्फत १९ असोजदेखि कम गति र सुपथ मूल्यका प्याकेज बिक्री तथा नवीकरण बन्द गर्ने जनाएको थियो ।
सेवा प्रदायकहरूले यसको कारण बढ्दो सञ्चालन खर्च, इन्धन तथा फाइबरलगायत सामाग्रीको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा देखिएको लागत दबाबलाई देखाएका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै इलेक्ट्रोनिक्स उपकरण तथा चिपसेटको मूल्य बढेको कारणसमेत व्यवसायीहरूले उल्लेख गरेका छन् ।
तर, उपभोक्ताका लागि प्रश्न सीधा छ- आफ्नो आवश्यकता पूरा गर्न २० वा ३० एमबीपीएस इन्टरनेट पर्याप्त हुँदा पनि अब २०० एमबीपीएसको प्याकेज नै किन्नुपर्ने हो ?
स्वीकृत छ सस्तो प्याकेज, बजारमा भने छैन
अहिलेको अवस्थाको अर्को रोचक पक्ष भनेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट विभिन्न कम गतिको इन्टरनेट प्याकेजका लागि दररेट स्वीकृत हुनु हो । प्राधिकरणको स्वीकृत ट्यारिफ सूचीमा विभिन्न सेवाप्रदायकका १०, २०, ३०, ४० र ५० एमबीपीएसलगायतका प्याकेज समावेश छन् । कतिपय सेवाप्रदायकका सस्ता प्याकेजको मासिक शुल्क पनि तुलनात्मक रूपमा कम छ ।
तर स्वीकृत दररेट र बजारमा उपभोक्ताले वास्तवमै पाउने प्याकेजबीच अन्तर देखिन थालेको छ । कतिपय सेवाप्रदायकले स्वीकृत गरेका कम गतिको प्याकेज बिक्री वा नवीकरण नगर्ने नीति लिएपछि नियामकले स्वीकृत गरेको दररेट व्यवहारमा कति लागू भइरहेको छ भन्ने प्रश्न उठेको छ ।
वर्ल्डलिंक : सस्तो प्याकेजभन्दा एक वर्षको सम्झौता
ग्राहक संख्याका आधारमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको उदाहरणले उपभोक्ताको बदलिँदो अवस्थालाई स्पष्ट देखाउँछ । प्राधिकरणबाट स्वीकृत ट्यारिफअनुसार वर्ल्डलिंकको सबैभन्दा सस्तो प्याकेज २०० एमबीपीएसको रहेको छ । यसको मासिक शुल्क करबाहेक १ हजार १ सय ९० रुपैयाँ तोकिएको छ ।
तर ग्राहकले छोटो अवधिका लागि सेवा लिन पाउने विकल्प हटाइएको छ । अब नयाँ ग्राहकले कम्तीमा एक वर्षको प्याकेज लिनुपर्ने अवस्था छ । एक वर्षको प्याकेजका लागि ग्राहकले एकैपटक १४ हजार ८ सय ९४ रुपैयाँसम्म भुक्तानी गर्नुपर्ने हुन्छ ।
दूरसञ्चार सेवा शुल्कसहित हिसाब गर्दा यसको मासिक खर्च करिब १ हजार २ सय ४१ रुपैयाँ पर्न आउँछ । यसको अर्थ मासिक रूपमा थोरै रकम खर्च गर्न चाहने ग्राहकले पनि एकैपटक ठूलो रकम जोहो गर्नुपर्ने अवस्था हो ।
भायानेट र सुबिसुमा पनि २०० एमबीपीएसको दबाब
भायानेटले प्राधिकरणबाट ४० एमबीपीएस इन्टरनेटका लागि मासिक ९ सय ७ रुपैयाँ ८ पैसा ट्यारिफ स्वीकृत गराएको छ । तर बजारमा सस्ता तथा कम गतिको प्याकेज हटाइएको छ ।
ग्राहकले कम्तीमा २०० एमबीपीएस क्षमताको तीन महिनाको प्याकेज लिनुपर्ने अवस्था छ, जसका लागि ४ हजार ८ सय रुपैयाँ तिर्नुपर्छ । तीन महिनाको शुल्कलाई मासिक हिसाब गर्दा १ हजार ६ सय रुपैयाँ पर्न आउँछ ।
सुबिसुको अवस्था पनि उस्तै छ । प्राधिकरणबाट २० एमबीपीएसका लागि मासिक ७ सय ५१ रुपैयाँको ट्यारिफ स्वीकृत भएपनि अहिले बजारमा २०० एमबीपीएस क्षमताको तीन महिनाको ४ हजार ८ सय रुपैयाँ पर्ने प्याकेजलाई न्यूनतम बिक्री विकल्प बनाइएको छ ।
अर्थात् कम गति र कम मूल्यमा सेवा लिन चाहने ग्राहकले आफ्नो आवश्यकताभन्दा निकै उच्च क्षमताको प्याकेज रोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।
क्लासिक टेकको अवस्था भने केही फरक
सबै सेवाप्रदायकको बजार रणनीति भने एउटै देखिँदैन । क्लासिक टेकले पछिल्लो समय नयाँ ग्राहकका लागि १२५ एमबीपीएस इन्टरनेट मासिक ५ सय ५३ रुपैयाँमै उपलब्ध गराउने विशेष अफर सार्वजनिक गरेको थियो ।
कम्पनीले यसअघि रहेको १०० एमबीपीएस प्याकेजलाई अपग्रेड गर्दै पुरानै मूल्यमा थप २५ एमबीपीएस गति उपलब्ध गराउने जनाएको थियो । नयाँ ग्राहकलाई वाइफाइ ६ राउटरको सुविधा पनि दिने कम्पनीको भनाइ थियो ।
कम्पनीको वेबसाइटमा पनि नयाँ जडान, नवीकरण तथा विभिन्न इन्टरनेट प्याकेजहरूका विकल्प प्रस्तुत गरिएका छन् ।
यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ- बढ्दो लागतका कारण सस्ता प्याकेज हटाउनुपर्ने अवस्था सबै सेवाप्रदायकका लागि समान हो कि बजारमा फरक-फरक मूल्य रणनीति अपनाउन सकिने अवस्था अझै छ ?
प्राधिकरणको स्वीकृत ट्यारिफ सूचीमा क्लासिक टेकका विभिन्न प्याकेज समेत रहेका छन् । पुरानो स्वीकृत सूचीमा ५०, ८० र १०० एमबीपीएसका ‘तुफान’ प्याकेजका दरसमेत उल्लेख छन् ।
त्यसैले अहिलेको बजारमा क्लासिक टेकको मूल्य रणनीति र अन्य ठूला आईएसपीले सस्ता प्याकेज हटाउने निर्णयबीचको अन्तर पनि उपभोक्ताका लागि चासोको विषय बनेको छ ।
वेबसाइटमा सस्ता प्याकेज खोज्नै कठिन
समस्या प्याकेजको मूल्यमा मात्र छैन । उपभोक्ताले उपलब्ध विकल्पबारे सहज रूपमा जानकारी पाउने अवस्था पनि कमजोर देखिन्छ । भायानेटले प्राधिकरणबाट स्वीकृत गराएका ५०, ६०, ७५, ८० र १०० एमबीपीएसका प्याकेज वेबसाइटमा सहज रूपमा भेटिँदैनन् । मुख्य पृष्ठमा भने २००, ४०० र ६०० एमबीपीएसका प्याकेजलाई प्राथमिकता दिइएको छ ।
सुबिसुको वेबसाइटमा पनि २००, ४५० र ६५० एमबीपीएसका प्याकेज प्रमुख रूपमा देखिन्छन् । तर प्राधिकरणबाट स्वीकृत ५०, ६५ र ८० एमबीपीएसका प्याकेजको मूल्य तथा विवरण बुझ्न ग्राहकले कम्पनीसँग सम्पर्क गर्नुपर्ने अवस्था छ । यसले उपभोक्तालाई आफ्नो बजेटअनुसार सेवा छनोट गर्न व्यवहारिक रूपमा कठिन बनाएको छ ।
२०० एमबीपीएस चाहिने कि आवश्यकताअनुसारको इन्टरनेट ?
इन्टरनेटको गति बढ्नु आफैंमा समस्या होइन । प्रविधिको विकाससँगै उच्च गतिको इन्टरनेटको माग बढ्नु स्वाभाविक हो । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब उच्च गति आवश्यक नपर्ने उपभोक्ताले पनि उच्च गतिको प्याकेज किन्नुपर्ने अवस्था आउँछ ।
चार–पाँच जनाको परिवारमा सामान्य मोबाइल प्रयोग, सामाजिक सञ्जाल, अनलाइन कक्षा, भिडियो कल र सामान्य मनोरञ्जनका लागि २०० एमबीपीएस अनिवार्य नहुन सक्छ । त्यस्तै, सीमित अनलाइन कारोबार गर्ने साना व्यवसायीलाई पनि सयौँ एमबीपीएसको सेवा आवश्यक नपर्न सक्छ ।
यस्ता उपभोक्ताका लागि कम गति तर सस्तो प्याकेज महत्वपूर्ण हुन्छ । तर बजारमा त्यही विकल्प हराउँदै जाँदा डिजिटल पहुँच विस्तारसँगै डिजिटल सेवाको लागत पनि बढ्ने जोखिम देखिएको छ ।
३५ लाखभन्दा बढी फिक्स्ड ब्रोडब्यान्ड ग्राहक
नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको पहुँच अहिले ठूलो भइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार नेपालमा तारसहितको ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक संख्या ३५ लाख ६३ हजार ८ सय ७५ पुगेको छ । फिक्स्ड ब्रोडब्यान्डको पहुँच देशको ५३.४० प्रतिशत जनसंख्यामा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
ग्राहक संख्याका आधारमा वर्ल्डलिंक कम्युनिकेसन्स सबैभन्दा अगाडि छ । कम्पनीका ११ लाख २२ हजार ९४ ग्राहक छन्, जुन बजारको ३१.२२ प्रतिशत हिस्सा हो ।
नेपाल टेलिकमका ४ लाख २ हजार १ सय ३२, भायानेटका ३ लाख ८० हजार ९ सय ३७, डिसहोमका ३ लाख ७४ हजार ६ सय २८, क्लासिक टेकका ३ लाख ६ सय ५३ र सुबिसुका २ लाख ७२ हजार २ सय ७० ग्राहक छन् ।
यति ठूलो उपभोक्ता आधार भएको बजारमा प्याकेजको मूल्य, अवधि र उपलब्धता सामान्य व्यापारिक निर्णय मात्रै नभई लाखौँ उपभोक्ताको दैनिक खर्चसँग जोडिएको विषय हो ।
अब प्रश्न नियामकतिर
आईएसपीहरूले लागत बढेको कारण देखाउनु आफ्नो ठाउँमा जायज हुन सक्छ । फाइबर, विद्युत्, इन्धन, उपकरण र जनशक्तिको लागत बढ्दा सेवा प्रदायकको सञ्चालन खर्च बढ्नु स्वाभाविक हो ।
तर, प्राधिकरणबाट सस्तो दरका प्याकेज स्वीकृत भइसकेको अवस्थामा ती प्याकेज बजारमा उपलब्ध छन् कि छैनन् भन्ने विषयमा नियामकको निगरानी पनि उत्तिकै आवश्यक हुन्छ ।
विशेष गरी उपभोक्तालाई स्वीकृत सबै विकल्पबारे स्पष्ट जानकारी उपलब्ध गराउने, आफूलाई आवश्यक प्याकेज छनोट गर्न पाउने वातावरण बनाउने र सेवा प्रदायकले स्वीकृत ट्यारिफ तथा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्थाको पालना गरे/नगरेको अनुगमन गर्ने जिम्मेवारी नियामकको हो ।
आईएसपी
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाई-फाई सोलुशन
काठमाडौं । नेपालकै पहिलो म्यानेज्ड वाई-फाईसोलुशन बिज२४ अब वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा म…
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज …
क्लासिक टेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्…
बाढीग्रस्त क्षेत्रमा स्टारलिंकको नि:शुल्क इन्टरनेट प्रस्ताव, सरकारको अनुमति पर्खिंदै
काठमाडौं । बाढी र पहिरोका कारण सडक, पुल तथा परम्परागत सञ्चार संरचना प्रभावित भइरहेका बेला नेपालमा उद्धार त…
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने
काठमाडौं । बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत …
क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभ…
बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइ…
स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभा…
एननेटले सुरू गर्यो एफटीटीआर र आईपीभी सिक्ससहित इन्टरनेट र आईपीटीभी सेवा
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक एननेट (पर्पल) ले आधिकारिक रूपमा नेपालभर …
क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ ज…
इन्टरनेट सेवा प्रदायक सजिलो नेटको ब्राण्ड एम्बासडरमा लोकगायक बद्री पंगेनी नियुक्त
इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ । यस सम्झौत…
२५ वर्षका लागि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स, हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको लाइसेन्स नवीकरण गरेको छ ।
२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले पर्साको सी डाटा कम्युनिकेस…
एक महिनामै करिब ९१ हजारले घटे आईएसपीका ग्राहक
एक महिनामै करिब ९१ हजारले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटका ग्राहक घटेका छन् । २०८१ जेठको तुलनामा २०८१ असारमा इन्टरनेट सेवा प्रदायक…
वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने
चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…