कीवर्डहरू -

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

स्टार्टअप नीति आवश्यक छः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्टार्टअप नीति आवश्यक रहेको बताएका छन् । बुधबार क्यान इन्फोटेकको उद्घाटन कार्यक्रममा बोल्दै गोल्छाले प्रविधिसँग जोडिएको स्टार्टअप नीति आवश्यक रहेको  बताएका हुन् ।

‘स्टार्टअप नीति आवश्यक छ । खास गरी प्रविधिसँग जोडिएको स्टार्टअप नीतिको कुरा गरिरहेको छु,’ उनले कार्यक्रममा भने, ‘यसका लागि हामीले सरकारसँग सहकार्य गरिरहेका छौं ।’

इकमर्स र अनलाइन कारोबारलाई सहज बनाउन उनले सरकारसँग आग्रह गरे । डिजिटल हस्ताक्षर कार्यान्वयनमा नआएको र भुक्तानी प्रक्रिया झन्झटिलो भएको बताए । सरकारी सेवा र तीनको भुक्तानीलाई अनलाइन बनाउनु पर्ने उनको भनाइ छ ।

गोल्छाले कोरोना महामारीमा प्रविधिले राहत दिएको बताए । ‘प्रविधिलाई जति आत्मसात गर्छौ हाम्रो जीवन त्यति सहज हुन्छ’ उनले भने ।

प्रविधिको प्रयोग बढदै जाँदा त्यसले असमानता सिर्जना गरेको र त्यसलाई कम गर्न काम गर्नुपर्ने बताए । सूचना प्रविधिले जीवन सहज मात्रै नभएर औद्योगिक लागत कम गर्न थालेको गोल्छाले बताए ।

नेपालमा प्रविधिको विकासका लागि क्यान महासंघसँग नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको पनि उनले जानकारी दिए ।