कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा देखिएको ईस्पोर्ट्सको सरगर्मी

काठमाडौं विश्वविद्यालयमा देखिएको ईस्पोर्ट्सको सरगर्मी

काठमाडौं । १७ वर्षिय निमेश वाग्ले शनिबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मल्टिपर्पोज हलमा आफ्ना दलबलसँग थिए । विश्वविद्यालयले आयोजना गरेको ई गेमिङ टुर्नामेन्टमा भ्यालोरेन्ट गेमिङको प्रतिस्पर्धाका लागि उनीहरु व्यग्रताका साथ आफ्नो पालो पर्खिरहेका थिए ।

हलभित्रै अर्को दुईओटा गेम डोटा टु र रोयल क्ल्यास भर्खरै सुरु भएको थियो । पब्जी गेमिङ भने अलिक अगाडी सम्पन्न भएर गेमर्सहरु अन्य गेमर्सहरुलाई ‘चियरलिड’ गर्दै थिए ।

हलको केन्द्र भागमा करिब २० ओटा पावरफूल पीसी थिए । प्रत्येक पीसीमा एक एकजना गेमर्सहरु हेडसेट लगाएर उत्साहका साथ गेमिङ गर्दै थिए । उनीहरुको पछाडी दर्शक र समर्थकहरुको भिड सलबलाइरहेका थिए । बेला बेला गेमर्स र दर्शकहरुको मुखबाट निस्किएको हर्ष र क्रोध मिश्रित ध्वनीले हललाई गुन्जयमान बनाइरहन्थ्यो ।

अरु बेला सुनसान हुने मल्टिपर्पोज हलमा शनिबार र आइतबार भिन्दै रौनकता छाएको थियो । अनलाइन गेमिङको माहोल जो छाएको थियो । विश्वभर बढिरहेको ईस्पोर्ट्सको सरगर्मीको त्यहाँ पनि देखिन्थ्यो ।

पछिल्लो समय नेपालमा ईस्पोर्ट्सको क्रेज एकदमै बढेको छ । ईस्पोर्ट्स खेल्नेहरुमाझ मात्र होइन हेर्नेहरु पनि त्यतिकै उत्साहित भएर झुम्मिने गरेको पब्जी गेमिङ आयोजक तर्फका व्यवस्थापक रोसन साहानीले बताउँछन् ।

काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ संकायका विद्यार्थीहरुले वर्षेनी आयोजना गर्दै आइरहेको ‘आईटी मिट’ मा पछिल्लो दुई वर्षदेखि ईस्पोर्ट्सलाई पनि समावेश हुँदै आएको छ ।

दुई दिनसम्म  आयोजना हुने आईटी मिटमा तीन सेग्मेन्टका कार्यक्रमहरु राखिएका छन् । जसमा प्राविधिक, गैरप्राविधिक र अर्को गेमिङ रहेको छ ।

प्राविधिक अन्तर्गत, कोड क्याम्प, गुगलिङ, मोबाइल रस, एआई क्याम्प, ग्राफिक्स डिजाइनिङ प्रतिस्पर्धा, आइटी क्विज आयोजना भएका थिए । गैरप्राविधिक अन्तर्गत आईडिया पिचिङ सेसन, करियर फेयर तथा प्रोडक्ट एक्जिबिसन भएका थिए । यसैगरी गेमिङ अर्थात् ईस्पोर्ट्सलाई भने छुट्टै सेग्मेन्टको रुपमा आयोजना गरिएको थियो । जसमा पब्जी, क्ल्यास रोयल, फिफा, भ्यारोलेन्ट र डोटा टु गरी पाँचओटा गेमको टुर्नामेन्ट गराइएको थियो ।

\"\"

यी गेमिङ टुर्नामेन्टमा प्रतिस्पर्धा गर्न करिब १६० जना गेमर्सहरु उक्त हलमा आएका थिए । भने एकैदिनमा ५ सय भन्दा बढिले दर्शक गेम हेर्नकै लागि केयूको हलसम्म आएका थिए ।

‘हामीले आईटी मिट आयोजना गर्दै गर्दा, प्रविधि सम्बन्धि विभिन्न प्रोडक्ट र प्रोग्राम राख्यौं । तर यति धेरै जनसंख्याको रुची भएको ईस्पोर्ट्स पनि प्रविधिकै एउटा महत्वपूर्ण हिस्सा हो भनेर हामी बिर्सने रहेछौं । यसैले हामीले गत वर्षको मिटदेखि ईस्पोर्ट्सलाई पनि एउटा विशेष सेग्मेन्टको रुपमा राख्न थालेका हौ. ।’ विश्वविद्यालयमै कम्प्युटर इन्जिनियरिङको चौंथो वर्षमा अध्ययनरत छात्रा तथा आयोजकमध्ये की एक सदस्य सिजा अधिकारीले बताइन् ।

उनको अनुसार आईटी मिट भ्रमण गर्न आउने कूल संख्याको अधिकांश प्राविधिक र गैर प्राविधिक सेग्मेन्टमा भन्दा पनि गेमिङ सेग्मेन्टमा बढि आकर्षित हुने गरेका छन् ।

‘मिटका लागि धेरै भिजिटर्स तान्न सकिने भएको कारण पनि हामीले यो सेग्मेन्टलाई आकर्षणको केन्द्रको रुपमा समावेश गरेका हौं ।’ सिजाले भनिन् ।

कार्यक्रममा अहिले सबैभन्दा धेरै चर्चामा रहेको गेम पब्जीदेखि धेरैले नसुनेको अनलाइन गेम क्ल्यास रोयल, फिफा आदी पनि समावेश थिए ।
फिफा फुटबल सम्बन्धि एउटा अनलाइन स्ट्राटेजिक गेम हो । यसलाई दुईजना गेमर्सले एकअर्कोको विरुद्धमा खेल्छन् । सबैको मोबाइलमा इन्स्टल रहेको पब्जी र फ्रि फायर जस्तो गेमर्सहरुमाझ फिफा त्यति लोकप्रिय छैन । तर अन्तराष्ट्र्रिय स्तरमा यो गेम एकदमै लोकप्रिय छ । गेमिङ हाउसमा यो गेमको धेरै चर्चा हुने र अन्तराष्ट्र्रिय टुर्नामेन्टहरु पनि प्रशस्तै हुने गरेको फिफाका व्यवस्थापक सुमन पोखरेल बताउँछन् ।

‘पब्जी र फ्रि फायरहरु मोबाइल गेम भएको कारण यसको हाइप एकदमै धेरै छ । तर फिफा, भ्यालोरेन्ट र डोटा टुहरु पीसी गेम हुन् । यस्ता गेमलाई खेल्नलाई पावरफूल पीसी डिभाइस चाहिने हुँदा यसलाई सबैले खेल्दैनन् ।’

कार्यक्रममा फिफाको सेग्मेन्टमा ११ हजार रुपैयाँको प्राइज पूल राखिएको थियो ।

यसैगरी फिफा जस्तै अर्को गेम क्ल्यास रोयल पनि नेपालमा धेरै हाइपमा नभएको गेम हो । तर भारत हङकङ लगायत देशहरुमा यसको ठूला ठूला टुर्नामेन्टहरु हुने गरेका छन् । क्ल्यास रोयलका व्यवस्थापक अनुराग कार्कीका अनुसार नेपालमा यो गेमले धेरै प्राथमिकता पाएको छैन तर स्पोर्ट्स नेपाल जस्ता संस्थाहरुले समय समयमा यसका टुर्नामेन्टहरु आयोजना गरिरहेका छन् ।

हाल नेपालमा क्ल्यास रोयलको एकदमै थोरै संख्यामा व्यवसायिक टिमहरु पनि जसमध्ये एउटा कोडी नाइन्टी नाइन हो जसको क्ल्यान नेम क्ल्यास नेपाल रहेको छ ।

केही समयअघिसम्म पीसी सेग्मेन्टको गेम काउन्टर स्ट्राइज गो अफेन्सिभ अर्थात् सीएसगो स्ट्राटेजिक एफपीएस गेममा सबैभन्दा अग्रस्थानमा थियो । तर यसलाई पछि पार्दै अहिले भ्यालोरेन्ट विश्वभर लोकप्रिय छ ।

‘भ्यालोरेन्ट गेमिङका लागि एकदमै राम्रो शक्तिशाली पीसी चाहिने भएको कारण पब्जी जति यो लोकप्रिय हुन नसकेको हो,’ भ्यालोरेन्टका व्यवस्थापक विराट श्रेष्ठ भन्छन्, ‘तर सीएसगो पछि परेपछि अहिले विस्तारै नेपालमा यसको क्रेज भित्रिदैँछ । सीएसगोका पुनारा खेलाडीहरु सबै अहिले भ्यालोरेन्टतिर आएका छन् ।’

हाल भ्यालोरेन्टका गेमर्सहरु बढ्न थालेसँगै अन्तराष्ट्र्रिय टुर्नामेन्टहरु पनि बढ्न थालेका छन् । कम्पनीले मुम्बाईसम्म नै आफ्नो सर्भर ल्याई पुर्याइसकेको छ ।

कार्यक्रमले प्रि इभेन्ट र मूख्य सत्र दुबैमा भ्यालोरेन्ट गेमिङ टुर्नामेन्ट आयोजना गरेको थियो । जसमा १६ टिम सहभागी थिए ।

स्ट्राटेजिक गेम डोटा टु हाइपमा नभए पनि अन्तराष्ट्र्रिय टुर्नामेन्टमा सबैभन्दा ठूलो प्राइज पूल भएको ईस्पोर्ट हो ।
गेमको प्रकृति नै अप्ठ्यारो भएको कारण यसमा खासै धेरै गेमर्सहरु छैनन् ।

प्रसुन सापकोटा जसको एण्डगेम नेम माइनस हो उनी डोटा टु गेमिङमा भर्खरै छिरेका हुन् । डोटा टुलाई नेपालबाट प्रतिनिधित्व गर्ने थोरै टिममध्येको उत्कृष्ट मानिने चमन स्पोर्ट्ससँग उनी आवद्ध छन् ।

आइतबार प्रसुन पनि डोटा टुका लागि केयू आएका थिए ।

एकदमै सौहार्द वातावरणमा गेम सम्पन्न भएकोमा उनी एकदमै खुशी थिए । केयूकै विद्यार्थी प्रसुन फूल टाइम गेमिङलाई समय दिन नसकेपनि कतै टुर्नामेन्ट भएको समय चमनका अन्य गेमर्सहरुसँग भेला भएर जाने गरेको बताउँछन् ।

'एउटै प्लेटफर्ममा यति धेरै गेमहरु आयोजना हुनु भनेको एकदमै ठूलो कुरा हो, गेम यति सौहार्दरुपमा सम्पन्न भयो हामी एकदमै खुशी छौं ।'

यसैगरी कार्यक्रममा समावेश गरिएको अत्यन्तै लोकप्रिय पब्जी गेमका लागि १२ टिम सहभागी थिए । पब्जीको क्रेजकै कारण आईटी मिट २०२२ को टाइटल स्पोन्सर एफवान सफ्ट आफैले नै पब्जीलाई प्रायोजन गरेको पब्जीका व्यवस्थापक रोसन साहानीले बताए ।

तर ईस्पोर्ट्सको महत्व बुझ्दै गएको कारण यसपालीको गेमिङ सेग्मेन्टमा धेरै कम्पनी, गेम डेलपर्स कम्पनी तथा आईटी एसेसोरिज कम्पनीहरुले स्वस्फूर्त प्रायोजनका लागि अगाडी आएका सिजाले बताइन् ।

कार्यक्रममा विदेशी गेमहरुमा गेमर्सहरुलाई प्रतिस्पर्धा गराईएको थियो । यससँगै अगुमेन्टेड रियालिटी प्रयोग गरी केयूकै विद्यार्थीहरुले निर्माण गरेको एआर ट्रेजर हन्टलाई प्रि इभेन्टमा गत जुलाईमै सार्वजनिक गरिएको थियो ।

‘अनलाइन गेमिङलाई खराब दुव्र्यसनीको रुपमा हेर्न हाम्रो समाज, परिवारको धेरै हदसम्म धारणा परिवर्तन भईसकेको छ । यसमा रुची, लगाव र धैर्यता देखाउन सकियो भने यसको स्कोप एकदमै ठूलो छ ।’ सिजा भन्छिन्,
गेम डेलपर्सहरुको बजारमा धेरै माग छ तर भने जस्तो डेभलपर्सको बजारमा अभाव छ । यस्तो बेला गेमिङले त्यस क्षेत्रमा पनि मूल्य सृजना गर्न सक्ने गेमर्सहरु बताउँछन् ।

फिफाका इभेन्ट म्यानेजर सुमन भन्छन्, ‘गेमिङ गर्दै गर्दा गेमर्सहरुलाई कुनै गेमको युआइृ वा क्यारेक्टर मन परिरहेको हुन्छ, यस्तो बेला उनहरुले गेमिङ मात्र गर्दैनन्, आफू प्रभावित भएको गेमलाई अनुकरण गरी राम्रो डेभलपमेन्ट तिर पनि अग्रसर भइरहेका हुन्छन् ।’