कीवर्डहरू -

नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्स’ विषय पढाउँदै केयु

नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्स’ विषय पढाउँदै केयु

काठमाडौं विश्वविद्यालय (केयु)ले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्’ विषय पढाउने भएको छ । स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको समिश्रण हेल्थ इन्फरम्याटिक्स कोर्ष विश्वविद्यालयले नेपालमै पहिलोपटक अध्यापन गराउन लागेको हो ।

यस विषयको प्रमुख उद्देश्य स्वास्थ्य क्षेत्रसँग सम्बन्धि तथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरुको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नविन खोज एवं अन्वेषण गर्ने रहेको छ ।

नेपालमा मात्र नभएर विश्वभर हेल्थ इन्फरम्याटिक्सका जनशक्तिको प्रचुर आवश्यकता रहेकोले  काठमाडौं विश्वविद्यालय यस विषयमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलले नाभेम्बर २०२२ भित्रै  हेल्थ इन्फरम्याटिक्सको भर्ना प्रक्रिया शुरु गरी यथाशिघ्र पठनपाठन सञ्चालन गर्ने बताए ।

प्रा. पोखरेलले दिगो विकास लक्ष्य: लक्ष्य ३ (SDG: Goal 3) लाई मूर्त रूप दिन पनि हेल्थ इन्फरम्याटिक्स  विषयको महत्वपूर्ण भूमिका रहने प्रष्ट पारे ।

हेल्थ इन्फरम्याटिक्स स्नातकोत्तर कार्यक्रमका  संयोजक उप-प्रा. सन्तोष खनालले  कार्यक्रमको विस्तृत विवरण पेश गर्दै यो शैक्षिक कार्यक्रममा शोधकार्य सहित कूल ४८ क्रेडिट कोर्ष अध्यापन हुने जानकारी दिए । यो शैक्षिक कार्यक्रमको अवधि २ वर्ष रहने छ । यस शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १० जना विद्यार्थी भर्ना गरिनेछ ।

डिर्पाटमेन्टका सह प्रा. डा. रविन्द्र विष्टले सन् २०१३ देखि शुरु भएको हेल्थ इन्फर्म्याटिक्स अध्यापन गराउने अभियान अब छिट्टै यथार्थमा परिणत हुन लागेको बताए ।

यस स्नातकोत्तर शैक्षिक कार्यक्रम स्थापना तथा सञ्चालनका लागि काठमाडौं विश्वविद्यालयले यूरोपियन यूनियनको Erasmus+  कार्यक्रम अन्तरगत Nepalese Education in E-Health Master (NEEM) परियोजना मार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्ने तय भएको छ ।

सोही परियोजना अन्तर्गत युनिभर्सिटी इन्टिच्युट अफ लिसवन, ISCTE पोर्चुगलको पनि यस कार्यक्रममा सहयोग रहने छ । साथै यस शैक्षिक कार्यक्रममा AeHIN (Asia eHealth  Information Network) र  Health Information Society of Sri Lanka (HISSL) को पनि सहयोग रहेको छ ।

स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि संलग्न रहँदै आएका आयटा इन्कर्पोरेशनका अभिशेक महतले बजारमा हेल्थ इन्फरम्याटिक्सको जनशक्तिको एकदमै उच्च माग रहेको अवस्थामा काठमाडौं विश्वविद्यालयको हेल्थ इन्फरम्याटिक्स स्नातकोतर कार्यक्रम स्थापना/ सञ्चालन गर्ने योजना एकदमै समय सान्दर्भिक भएको बताए । यस कदमले स्वास्थ सूचना प्रणली विकासमा संलग्न आम संस्थाहरु उत्साहित भएको जनाए ।

डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका विभागिय प्रमुख सह प्रा. डा. बालकृष्ण बलले नयाँ शैक्षिक कार्यक्रमहरु शुरू गर्न सधैं अग्रसर  रहने विश्वविद्यालयको कम्प्युटर डिपार्टमेन्टको यो पाँचौ स्नातकोत्तर कार्यक्रम रहको अवगत गराए ।

यस विषय अध्यापनका लागि काठमाडौं विश्वविद्यालय डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ  र स्कूल अफ मेडिकल साइन्सका प्राध्यापक लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विषय विज्ञहरु  संलग्न रहने छन् ।
यो कार्यक्रम चौकोटस्थित काठमाडौं विश्वविद्यालयको लङ्ग्स सेन्टरमा  सञ्चालन हुनेछ ।