कीवर्डहरू -

टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्

टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्

नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले प्रयोग गर्न पाउँछन् भन्नेमा अन्यौलता सिर्जना भएको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट परीक्षण थालेको थियो ।

आन्तरिक परीक्षणमा टेलिकमका कर्मचारीले मात्रै फाइभजी चलाइरहेका छन् । आन्तरिक परीक्षण सुरू भएको करिब २ महिना हुन लाग्दा पनि सर्वसाधारणलाई कहिलेदेखि फाईभजी प्रयोग गर्न दिने विषयमा टेलिकम आफै स्पष्ट छैन् ।

टेलिकमले फाइभजी चल्ने मोबाइल फोनको सिमितताका कारण ढिलाइ भइरहेको कारण देखाएको छ । मोबाइल डिभाइसको सीमितताका कारण परीक्षणमा थप सकस देखिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

तर यता, मोबाइल व्यवसायीले भने नेपालमा फाईभजी मोबाइल सेट पर्याप्त मात्रामा उपलब्ध रहेको दावी गरेका छन् । नेपाल मोबाइल वितरक संघका उपाध्यक्ष सञ्जय अग्रवालले फाइभजी परीक्षणका लागि बजारमा पर्याप्त मात्रामा मोबाइल सेट उपलब्ध रहेको बताए ।

‘अहिले उत्पादन हुने ९० प्रतिशत फोनमा फाइभजी सपोर्ट छ । नेपालमा पनि फाइभजी सपोर्ट गर्ने फोनहरू आइरहेका छन्,’ उनले आइसिटी समाचारसँग भने, ‘टेलिकमले भने जस्तो बजारमा फाइभजी सेटको अभाव छैन् ।’

नेपालमा आयात हुने नयाँ फोनहरू प्राय सबैमा फाइभजी सपोर्ट सुविधा छ । २५ देखि ३० हजार माथिको सबै सेटमा फाइभजी सुविधा उपलब्ध छ ।

बिक्री भएका फाइभजी फोनमा पनि चल्ने समस्या रहेको टेलिकमको भनाइ  छ । ‘नेपाली बजारमा आएका चर्चित सेटहरुमा पनि फाइभजीको परीक्षण आफै नहुने समस्या देखा पर्‍यो,’ प्रवक्ता अधिकारी भन्छन्, ‘हामीले मोबाइल कम्पनीका विक्रेताहरुसँग कुरा गर्दा उनीहरुले कमर्सियल डिप्लोम्याट भएपछि मात्रै चल्‍ने जवाफ दिएका छन् ।’

धेरैजसो मोबाइलले २६ सय मेगाहर्ज सपार्ट नगर्ने पाइएको टेलिकमले जनाएको छ । सेवा प्रदायकले फाइभजी सेवा सर्वसाधारणलाई खुला गरे लाइन लगाएर फाइभजी फोन मगाउन तयार रहेको अग्रवाल बताउँछन् ।

‘टेलिकमले फाइभजी सेवा दिए पो हामी पनि फाइभजी सेटलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘फोरजी भन्दा फाइभजी सेट महंगो हुन्छ । नेपालमा फाइभजी नै छैन् भने महंगो ह्याण्डसेट मात्रै मगाएर भएन् ।’

टेलिकमले फाइभजी परीक्षणको ढिलासुस्तीमा मोबाइल फोन प्रमुख कारण देखाएपनि हुवावेको प्रविधि गरेका कारण अमेरिकाले चासो देखाएपछि रोकिएको बताइन्छ ।

सरकारले टेलिकमलाई २६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत फाइभजी परीक्षण गर्न अनुमति दिएको छ । उक्त फ्रिक्वेन्सी टेलिकमले एक वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने छ ।