कीवर्डहरू -

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो ।

यो मेला भदौ १७ गतेदेखि २१ गतेसम्म चलेर सम्पन्न भएको हो । यस व्यापार मेलामा राष्ट्रिय  तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन बिक्रीका लागि  पर्याप्त अवसर पाउने महासंघको भनाई छ ।

महासंघले विगत ४ वर्षदेखि यस प्रकारको मेला आयोजना गर्दै आइरहेको छ । यस्तै, मेलामार्फत महिला उद्यमीहरुको सञ्जाल विस्तार, सीप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढवा दिने बताइएको छ ।

मेलामा काठमाडौ उपत्यकासहित अन्य जिल्लाका महिला उद्यमीको सहभागिता थियो । मेलामा सहभागीहरुले भर्चुअल माध्यमबाट वस्तुका खरिद तथा बिक्री गरेका छन् ।

मेलामा उद्यमीहरुले उत्पादन गरेको उत्पादन अनलाइन ई–पोर्टलमार्फत प्रदर्शनीमा राखेर विनबिजको वेभसाइटबाट बिक्री गरिएको  थियो ।

भर्चुअल व्यापार मेलामा सातैवटा प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित १ हजार १३० वटा सामग्रीहरुलाई विभिन्न ४ समूह (हस्तकला, कृषि तथा खाद्यान्न, व्यापार र सर्भिस) मा विभाजन गरी प्रर्दशनीमा राखिएको थियो ।

यो प्रदर्शनी अवधिभरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गरी कुल एक लाखभन्दा बढी दर्शकले भर्चुअल मेलाको अवलोकन गरेका थिए ।

नेपालमा नै पहिलोपटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलामा  महिला उद्यमीहरुले आफ्ना सामग्रीहरुको प्रचारप्रसारका गर्नुका साथै व्यवसायीदेखि ब्यवसायी र ब्यवसायीदेखि उपभोक्तासम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको छ ।