कीवर्डहरू -

सीजी नेटले पहिलो ढेड महिनामा बनायो ५६७ ग्राहक

सीजी नेटले पहिलो ढेड महिनामा बनायो ५६७ ग्राहक

सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट दिने भनेर जेठमा सुरु भएको सीजी इन्टरनेटको पहिलो ढेड महिनाको ग्राहक संख्या सार्वजनिक भएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असार महिनाको एमआईएस रिपोर्टअनुसार ढेड महिनामा सीजी नेटका ५ सय ५६ ग्राहक बनेका छन् ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्सले जेठ १८ गतेदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको थियो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा जेठ १८ देखि असार मसान्तसम्म अर्थात झन्डै ढेड महिनामा उक्त ग्राहक बनाएको छ ।

त्यसपछि सीजीले आक्रमक रुपमा इन्टरनेट विस्तार गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुर्याइसकेको छ । हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुल्चोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलंकी, सतुंगल, छाउनी, बालाजु र बल्खुमा उपलब्ध रहेको छ ।
कम्पनीले अबको २ महिनाभित्र काठमाडौंको महाराजगञ्ज, शंखमूल, गोंगबु, धापासी, शान्तिनगर, जोरपाटी, कपन चाबहिल, धर्मस्थली, टोखा, कालिमाटी, बल्खु, पेप्सीकोला, सीतापाइला, स्युचाटार, लाजिम्पाट, विशालनगर, गौशाला, रानीबारी, बूढालिकण्ठ, ठमेल, न्यूरोड, पुतलिसडक र मुलपानीमा विस्तार गर्ने जनाएको छ ।

त्यस्तै ललितपुरको सातदोबाटो, भैसेपाटी, हात्तीवन, इमाडोलमा पनि २ महिनाभित्र इन्टरनेट विस्तार हुने कम्पनीले जनाएको छ । साथै अबको २ महिनाभित्र भक्तपुरको कौशलटार, राधे राधे, सानोठिमी, सूर्यविनायक र बालकोटमा पनि इन्टरनेट विस्तार हुनेछ ।

सीजी नेटले ९९९ रूपैयाँमा १२० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराएपछि यसको चर्चा बढेको थियो।