कीवर्डहरू -

यस्ता छन् गत वर्ष आयोजित आइसिटी अवार्डका ८ विधाका विजेताहरु

यस्ता छन् गत वर्ष आयोजित आइसिटी अवार्डका ८ विधाका विजेताहरु

४ वर्षयता लिभिङ विथ आइसिटीको आयोजनामा हुँदै आइरहेको आइसिटी अवार्ड नेपालकै सूचना प्रविधि क्षेत्रको एक पर्वको रुपमा स्थापित भएको छ । चौथो संस्करणको रूपमा यही साउन ३२ मा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्ड २०१९ आयोजना हुँदै छ । यसैबीच हामीले गत वर्ष आइसिटी अवार्डका विभिन्न विधाका विजेताबारे चर्चा गरेका छौं ।


प्रडक्ट आइसिटी अवार्ड २०१८- आइसोलुसन्स लाइफ

बिमा उद्योगलाई स्वचालन गर्ने ध्येयका साथ दर्शनटेकले विकास गरेको सफ्टवेयर आइसोलुसन्स लाइफले गत वर्षको नेटगियर आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो । जीवन बीमा कम्पनीहरु, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्स्योरेन्स रेगुलेटरहरु आदिका लागि यो सफ्टवेयर लक्षित छ । यो सफ्टवेयरमा नयाँ बिजनेस, पोलिसी सर्भिसिङ, डेथ क्लेम, चाइल्ड राइडर्स पेमेन्ट, मच्योरिटी पेमेन्ट, सरभाइबल बेनिफिट पेमेन्ट, पेमेन्ट म्यानेजमेन्ट, पोलिसी लोन म्यानेजमेन्ट, एजेन्सी लोन म्यानेजमेन्ट, च्यानल म्यानेजमेन्ट, एकाउन्टिङ, कम्प्लायन्स म्यानेजमेन्ट आदि फिचरहरु रहेका छन् । यस्ता फिचर अहिलेका बिमासम्बन्धी काम गर्ने संस्थाहरुको आवश्यकताअनुसार ल्याइएको कम्पनीको दाबी छ ।

\"Image
यो सफ्टवेयर सिटिजन लाइफ, एसियन लाइफ इन्सुरेन्स, प्रभु लाइफ, सन लाइफ इन्सुरेन्स, रिलायबल लाइफ इन्सुरेन्स गुराँस लाइफ इन्सुरेन्समा आदिमा प्रयोग गरिएको छ । आइसिटी अवार्ड प्राप्त गरेपछि आफ्नो सफ्टवेयरको माग बढिरहेको जानकारी कम्पनीले दियो । हाल यो सफ्टवेयरको सुरुवाती मूल्य ३६ लाख रुपैयाँ रहेको छ । कस्टुमर सर्भिस, एकाउन्टिङ, क्लेम डिपार्टमेन्ट, एजेन्सीलगायतका बिमासम्बन्धी कम्पनीहरुका सबै कामहरु सिस्टमबाटै अटोमेट हुने भएकाले यो प्रडक्ट प्रयोग भएपछि पूर्ण अटोमेट भएर काम गर्न सकिन्छ ।

स्टार्टअप आइसिटी अवार्ड २०१८- पिपुल डेभलपमेन्ट ल्याब

नेटगियर आइसिटी अवार्ड २०१८ मा स्टार्टअप आइसिटी अवार्ड पिपुल डेभलपमेन्ट ल्याब (पिडिएल)ले पाएको थियो । यो कम्पनीले सूचना प्रविधिको प्रयोगबाट नेपालमै पहिलो पटक साइकोमेट्रिक टेस्टहरुको विकास गरी सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ । यो स्टार्टअपले अनलाइनबाटै मानिसहरुलाई योजनाबद्ध रुपमा करिअर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनिहरुको नेतृत्व विकास गर्ने काम गरेको छ । अहिले विकसित देशहरुमा व्यक्तिको रुचि, क्षमता र मनोविज्ञानलाई विशेष ध्यान दिदै करिअर रोज्ने, जागिर वा व्यवसाय गर्ने प्रवृत्ति बढिरहेको छ ।

\"Image

यसैलाई मध्यनजर गर्दै नेपालमा पनि पिपुल डेभलपमेन्ट ल्याबले करिअर डेभलपमेन्ट र लर्निङ एक्सपिरियन्समा नयाँ शैली अपनाएको छ । नेपाली मूल्य मान्यतालाई ध्यान दिँदै इमेजबेस्ड प्रश्नहरु गरेर टेस्ट गरिन्छ । टेस्ट गर्नेलाई प्रश्न उत्तर गरे जस्तो नभई गेम खेले जस्तो हुन्छ । यो प्रक्रियामार्फत अनकन्सियस माइन्डलाई ग्य्राब गर्ने प्रयास गरिन्छ । विशेषगरी पिडिएलले अहिले विद्यार्थी वर्ग र जागिर गर्न चाहने मानिसहरुलाई लाभान्वित तुल्याएको छ । यसका लागि यो कम्पनीले करियर प्रोइफालर नामक प्रडक्ट विकास गरेको छ, जसले विद्यार्थीहरुलाई उचित करियर छनोट गर्न सहयोग पुर्याउँछ । त्यस्तै नेतृत्व विकासका लागि कम्पनीले म्यानेजमेन्ट लिडरसिप पर्सनालिटी प्रोफाइलर विकास गरेको छ । नेपालमा पहिलो पटक पिडिएलले विभिन्न डेटाको भरपुर प्रयोग गर्दै मानिसको मनोविज्ञान अनुसार करियर गाइड गर्ने र नेतृत्वको विकासको प्रक्रियालाई अझै मजबुत गराउन काम थालेको छ ।

जुरी स्पेसल मेन्सन अवार्ड २०१८- सारथी

नेटगियर आइसिटी अवार्ड २०१८ मा आइसिटी स्टार्टअप अवार्ड र आइसिटी प्रडक्ट अवार्ड गरी दुवै विधामा उत्कृष्ट ५ मा पर्न सफल अनलाइन ट्याक्सी सेवा सारथी क्याबले जुरी स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको थियो । सारथी प्रालिले सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र अनलाइन ट्याक्सी सेवा थालेको हो । उपत्यकामा ट्याक्सी चढ्नेहरु ठगिने धेरै घटना आउने गरेकोमा सारथीले राम्रो विकल्प दिएको छ । ट्याक्सी चालकहरु मिटरमा जान मान्दैनन् र ग्राहकहरु धेरै पैसा तिर्न पनि मान्दैनन् । त्यसैले ग्राहक र चालकबीच बार्गेनिङ चल्ने गर्दछ । तर, उपत्यका र उपत्यकाबाहिर पनि सहज ढंगले उपभोक्ताले ट्याक्सी चढ्ने व्यवस्था सारथीले ल्याएको छ । सारथीले आवत जावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गरिरहेको छ । ट्याक्सी चालकलाई मर्यादित र अनुशासित बनाउने र साथसाथमा ट्याक्सी धनी, चालक र यात्रु तीनै जना खुसी हुन सक्ने प्लाटफर्म सारथी हो । ड्राइभरले भनेजत्तिको बुकिङ पाओस्, यात्रुले भनेको समयमा सुविधा पाओस् र गाडी धनीले महिनामा पाउने अनुमानित रकम पाओस् । यी कुराको समाधानका लागि सारथी आएको हो ।’

\"Image

ग्राहकसँग ट्याक्सीको नम्बर र फोन नम्बर दुवै हुने हुनाले यात्रा गर्दा कुनै समान छुटेमा हराउने डर सारथीमा नहुने कम्पनीको भनाइ छ । त्यस्तै सारथीको अर्को विशेषता भनेको एक फोनको भरमा ट्याक्सी यात्रुकै घरमै आउनु पनि हो । यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् । यो जानकारी कन्ट्रोल रुममा पुगिरहेको हुन्छ । त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ । ट्याक्सी गुडिरहको नक्सा पनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ । आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ । फोनबाट बुक हुने मात्रै होइन, सारथीका ट्याक्सी खाली हुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् ।

हालै कुमारी बैंकसँग सहकार्य गरी सारथी बजारमा आउने तयारीमा छ । यसअन्तर्गत सारथीका ६५० ट्याक्सी टपहरूमा कुमारी बैंकको लोगाो अंकित स्टिकर तथा विविध बचत खाताहरूको विज्ञापन स्टिकरमार्फत ब्रान्डिङ गरिनेछ । यसैगरी, सारथीका ट्याक्सी चालकहरूको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरूले भौतिक नगदरहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

डिजिटल गभर्नेन्स अवार्ड २०१८- नेपाल प्रहरी

सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने डिजिटल गभर्नेन्स अवार्डअन्तर्गत गत वर्ष नेपाल प्रहरी उत्कृष्ट ठहरियो । समाजमा शान्ति सरक्षा कायम गराउन स्थापना भएको नेपाल प्रहरीले विसं. २०४३ देखि कम्प्युटर शाखामार्फत आइसिटीको प्रयोग थालेको हो । अहिले यो सूचना प्रविधि महाशाखाको रुपमा सञ्चालनमा आएको छ भने अपराध नियन्त्रण र न्यूनीकरण, जनशक्ति व्यवस्थापन, प्रहरी अप्रेसन र सूचना वितरण आदि कार्यमा विभिन्न आइसिटी टुल र टेक्निकहरुको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रदेशसहितका महत्वपुर्ण डोमेनहरु छुट्याइएको छ । प्रहरी प्रशासनसम्बन्धी आवश्यक जानकारी, सूचना मात्रै नभएर वेसबाइट मार्फत सर्वसाधारणले गुनासो र सहयोग माग्न सक्छन् । देशका ९८ र थप २२ गरि १२० स्थानका प्रहरी केन्द्रहरु इन्ट्रानेटमा कनेक्टेड भएका छन् । यसमा ७५ हजार प्रहरी जनशक्तिको सम्पूर्ण विवरण अनलाइन उपलब्ध गराइएको छ ।

\"Image

नेपाल प्रहरीले डेटा सेन्टरसमेत स्थापना गरिसकेको छ । सम्भवतः यो जिआइडिसीपछिको सबैभन्दा ठूलो क्षमताको सरकारी डेटा सेन्टर हो । साइबर सुरक्षाको दृष्टिकोणले पनि सचेत रहेको नेपाल प्रहरीले सेक्युरिटीका उच्चतम उपाय तथा प्रविधिको प्रयोगमा जोड दिएको छ । प्रविधिबाट हुने आपराधिक घटनाको अनुसन्धानको लागि डिजिटल फरेन्सिक ल्याब पनि स्थापना भइसकेको छ । नेपाल प्रहरीसँग सम्बन्धित केही मोबाइल एपहरु पनि रहेका छन् । साथै दुई दर्जनभन्दा बढी सफ्टवेयरहरु विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको छ । देशभरबाट आएका सूचना, जानकारी र घटनाहरुलाई चौबीसै घन्टा डिजिटल्ली अपडेट गरिएको छ । लेखा व्यवस्थापन मात्र नभएर प्रशासनसम्बन्धी र जनताका सवालहरु समेत सबै डिजिटल प्लाटफर्ममा राखिन्छ । अहिले कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतभन्दा बढीले घटिसकेको छ । हरेक बिल्डिङ र तलामा एटेन्डेस सिस्टम र आइपी क्यामेराहरु व्यवस्थित छन् ।

आन्ट्रप्रेनियर आइसिटी अवार्ड २०१८- विश्वास ढकाल

गत वर्षको आइसिटी अवार्डमा एफवान सफ्ट इन्टरनेश्नलका प्रमुख विश्वास ढकाललाई आन्ट्रप्रेनियर आइसिटी अवार्डले सम्मान गरियो । उनले सन् २००४ मा स्थापना गरेको एफवान सफ्ट सूचना प्रविधिसम्बन्धी थुप्रै सेवाको विकास र विस्तार गर्दै देशकै नम्बर एक फिनटेक कम्पनीको रुपमा स्थापित भएको छ । पछिल्लो समय विश्वास र उनको टिम इन्नोभेटिभ मोबाइल एप्स र मोबाइल फाइनान्सियल सोलुसनमा काम गर्दै जनताको जीवनशैलीलाई अझै सहज बनाउन प्रयत्नरत छ । उनले आफ्नो कम्पनीमार्फत ८ सिस्टर कम्पनी सञ्चालन गरेका छन् । बैंकको अनलाइन तथा मोवाइल पेमेन्ट सेवासँगै पहिलो र लिडिङ अनलाइन पेमेन्ट गेटवे ई–सेवा उनकै कम्पनीले सुरु गरेको थियो । ई–सेवामार्फत ५० लाखभन्दा बढी नेपालीहरुलाई प्रविधिमय जीवनशैलीमा जोड्न सफल विश्वास र उनको टिमले एकपछि अर्को उदाहरणीय काम गरिरहेको छ ।

\"Image

विद्यार्थी जिवनमा ढकालले एउटा कोठाबाट सुरु गरेको एफवान सफ्टले आज ४ सय ५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । जनकपुरमा जन्मेका विश्वासले सोही स्थानबाट एसएलसी र भारतबाट आइएस्सी सके । नेपाल फर्केर नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी (एनसिआइटी)मा सफ्टवेयर इन्जिनियरिङ गर्दैगर्दा विश्वासले आफ्नै कोठाबाट कम्पनी दर्ता गरि आइटीको काम सुरु गरेका थिए । अस्गर अलि, सुवास शर्मा लगायतका साथीहरु जोडिए पछि एफवान सफ्टको उचाई बढ्दै गयो । सानो लगानीबाट सुरु भएको कम्पनीलाई विश्वास र उनको समूहले आवश्यकताअनुसार लगानी थप्दै इनोभेसन, रिसर्च गर्दै नयाँ प्रविधिहरु भित्राए । अहिले फिनटेकसँगै ई कमर्श, बिग डेटा, हेल्थ, इन्सुरेन्सलगायतको क्षेत्रमा पनि काम गरिरहेका छन् विश्वास ।

पायोनियर आइसिटी अवार्ड २०१८- सञ्जीव राजभण्डारी

नेपालको आइटी क्षेत्रमा एक दिग्गज व्यक्तिको रुपमा सम्मान गरिने नाम हो, सञ्जीव राजभण्डारी । राजभण्डारीलाई गत वर्षको आइसिटी अवार्डमा पायोनियर आइसिटी अवार्ड २०१८ ले सम्मान गरियो । उनी नेपालको पुरानो आइटी कम्पनी मर्कन्टायल अफिस सिस्टम (१९८५) र मर्कन्टाइल कम्युनिकेन्स (१९९५) का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत हुन् । नेपालमा आइसिटी क्षेत्रको जग हाल्ने केही व्यक्तिहरुको चर्चा गर्दा उनको नाम अगाडि आउँछ । भण्डारीले मर्कन्टायलमार्फत नेपालमा पहिलोपटक इन्टरनेट र इमेल सेवा भित्र्याउनेदेखि बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयरहरु निर्माण गरे । साथमा विश्वबजारका सूचना प्रविधिका महत्वपूर्ण प्रडक्टहरुको बजारीकरण गरे । उनी व्यावसायिक रुपमा मात्रै पायोनिर छैनन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा सक्रिय सहभागी हुँदै यो क्षेत्रको उत्थानमा अनवरत लागिरहेका छन् उनी । आइसिटी भनेको थाहै नहुने त्यो बेला प्रविधिको भविष्य नियाल्न उनी सफल भए ।

\"Image

नेपालमा सूचना प्रविधिसम्बन्धी कुनै नीति नै नबन्दा इन्टरनेट सेवाका साथमा कम्प्युटर र यसका पार्ट्सहरु भित्र्याए । सन् २००० देखि बजारमा मर्कन्टायल ब्राण्डका कम्प्युटर नै बिक्रीवितरण गर्न उनी सफल भए । मर्कन्टायलले बैंक तथा अन्य कर्पोरेट संस्थाहरुका लागि विभिन्न सफ्टवेयर बनाइरहेको छ । यसले बनाएको पुमरी सफ्टवेयर नेपालको पहिलो बैंकिङ सफ्टवेयर हो । नेपालको पहिलो अनलाइन न्युज पोर्टल नेपालन्युज डटकम पनि मर्कन्टायलले नै सुरु गरेको थियो । नेपालको सब डोमेन डन एनपी  ९।लउ० को निःशुल्क सेवा पनि राजभण्डारीकै पहलमा मर्कन्टायलबाट उपलब्ध भइरहेको छ । साथै कम्पनीमार्फत एसर, इप्सनलगायतका आधा दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा उपलब्ध गराइरहेको मर्कन्टायलले केही स्थानमा डेटा सेन्टरहरु पनि बनाइरहेको छ । उनी सूचना प्रविधिको अग्रणी संस्था क्यान महासंघका संस्थापक सदस्य एवं प्रथम निर्वाचित अध्यक्ष हुन् । राजभण्डारीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा महासंघअन्तर्गत आइसिटी डेभलपमेन्ट समितिको सभापतिका रुपमा समेत काम गरिसकेका छन् ।

डायस्पोरा आइसिटी अवार्ड २०१८- हिमाल कर्माचार्य

आइटी कम्पनी लिपफ्रग टेक्नोलोजीका संस्थापक एवं अध्यक्ष हिमाल कर्माचार्यलाई गत वर्षको नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८ ले सम्मान गरियो । विदेशमा रहेर पनि नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान दिने एक जनालाई हरेक वर्ष यो अवार्ड वितरण गरिन्छ । सामान्य पृष्ठभूमिका एक नेपाली युवा अहिले अन्तर्राष्ट्रियस्तरमै सूचना प्रविधिको सफलतासँग परिचित भइरहेका छन् । स्याङ्जामा जन्मिएका कर्माचार्यले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ब्याचलर र मास्टर सकाए । पढाइपछि उनले केही समय ओर्याकल, मोटोरोलाजस्ता कम्पनीहरुमा काम गरे । उनले ती कम्पनीमा काम गर्ने शैली सिके । तर, उनलाई पहिलेदेखि नै नेपालमा आएरै केही गर्नु थियो । यही सन्दर्भमा ९ वर्षअघि लिपफ्रग टेक्नोलोजी सुरू गरे । उनले यसअघि अमेरिकामा डिटुहकाई कम्पनीमा पनि काम गरे, जसको नेपालमा लार्ज डेभलपमेन्ट अफिस रहेको थियो ।

\"Image

२००९ मा डिटुहकाई बिक्री भएपछि उनले साथीहरुसँग मिलेर आफ्नै कम्पनी सुरुवात गरे, डियरवाक । तर उनले धेरै समय यो कम्पनीमा काम गरेनन् । २०१० मा आएर अर्को कम्पनी लिपफ्रग टेक्नोलोजी सुरु गरे, जसले उनको नाम जस्तै व्यक्तित्वलाई पनि शिखरमा पुर्याउन सफल भयो । लिपफ्रगले सुरुवातमा मोबाइल बैंकिङ सम्बन्धी प्रोजेक्टमा हात हालेको थियो । यो ९ वर्षको दौरान उनको कम्पनीले एक सयभन्दा बढी उत्कृष्ट प्रोजेक्ट सफलतापूर्वक सकाएको छ । लिपफ्रगले विशेषगरी हेल्थकेयर, एडटेक, कन्जुमर आदि सेक्टरमा उत्कृष्ट सफ्टवेयर बनाएको छ । चाखलाग्दो कुरा त उनले नेपालमा कम्पनी राखेर उनी बोस्टन र सिलिकन भ्यालीका स्टार्टअपहरुसँग काम गर्छन् । लिपफ्रगका इन्जिनियरहरुले अमेरिका जस्तो देशका लागि चाहिने महत्वपूर्ण सफ्टवेयरहरु बनाउँदा उनलाई गौरावन्दित बनाउँछ । उनले आगामी दिनमा पनि नेपाली प्रतिभालाई प्रशस्त अवसर दिन चाहन्छन् । यसका लागि आफू कार्यरत कम्पनी र विभिन्न नेटवर्कमा युवालाई स्वागत गरिरहेका छन् । आज लिपफ्रगमा एक सय ५० भन्दा बढीको टिम छ ।


मिडिया रिकग्निशन आइसिटी अवार्ड २०१८- सन्तोष न्यौपाने र गोपाल साउद

गत वर्षको आइसिटी अवार्डमा मिडिया रिकग्निशन आइसिटी अवार्डबाट नयाँ पत्रिकाका गोपाल साउद र नागरिकका सन्तोष न्यौपानेलाई सम्मान गरियो । क्याम्पस पढ्दापढ्दै पत्रकारिता सुरु गरेका न्यौपाने स्थापनाकालदेखि नै नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रविधि बिटमा कलम चलाउँछन् । एक दशक लामो पत्रकारिता यात्राको सुरुवात भने उनले फिचर लेखनबाट गरे । पछिल्लो पाँच वर्षदेखि भने उनी सूचना, सञ्चार तथा प्रविधिलाई मुख्य बिट आर्थिक तथा अन्य सामाजिक विषयमा खोजपत्रकारिता गर्दै आएका छन् । उनले सूचना प्रविधि क्षेत्रमा लगातार कलम चलाएको कदरस्वरुप गत वर्ष ‘नेपाल टेलिकम वेष्ट न्युज अवार्ड २०७४’बाट सम्मानितसमेत भइसकेका छन् । त्यसैगरी उनले युएनडिपी नेपालबाट फेलोसिप अवार्ड, इसिमोडबाट फेलोसिप अवार्ड, सेन्टर फर रुलर टेक्नोलोजी नेपालबाट फेलोसिप अवार्ड लगायतका थुप्रै सम्मान पाइसकेका छन् । अर्घाखाँचीका न्यौपानेले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर सकेका छन् ।

\"Image

त्यसैगरी ०६६ सालदेखि धनगढीबाट पत्रकारिता सुरु गरेका गोपाल साउदले पछिल्लो पटक नयाँ पत्रिका दैनिकमा काम गरेका थिए । उनले आइटी र दूरसञ्चार क्षेत्रमा निरन्तर खोजमूलक रिपोर्टिङ गरिरहेका छन् । उले यसअघि अग्रगति साप्ताहिक, श्रम सृजना दैनिक, चक्रपथ डटकम हुदै आर्थिक अभियानमा ३ वर्ष सूचना प्रविधिको क्षेत्रमा रहेर रिपोर्टिङ गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् ।

\"Image