सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एआईको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर परिमार्जन गरेर सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८३ जेठ १९ गते कमलामाई नगरपालिका ७ स्थित बिपी राजमार्गको गड्यौली पुलनजिक चेकिङमा खटिएका ट्राफिक प्रहरीको भिडियो तथा फोटो खिची एआईको प्रयोगबाट तस्बिर परिमार्जन गरी फेसबुकमा भ्रामक सामाग्री पोस्ट गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका १ निवासी २१ वर्षीय हर्कबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग गरिएको मोबाइल फोन समेत बरामद गरेको जनाएको छ । प्रहरीले आमनागरिकलाई सामाजिक सञ्जालमा आउने सामाग्री प्रति सजग रहन तथा सत्य तथ्य बुझेर मात्र प्रतिक्रिया दिन अनुरोध गरेको छ ।
आईसीटी समाचार