नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ।
यस साझेदारी सँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।
यस साझेदारी भए पछि ग्राहकहरूले स्टैंडर्ड चार्टर्ड बैंकको एप- ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिनेछ। ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी , इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो सुविधा सँगै अब स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकहरूले खल्तीमा आबद्ध भई युटिलिटी बिल भुक्तानी, बुकिङ साथै खल्तीका अन्य नवीनतम सुविधाहरू निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको एप- एस् सी मोबाइल नेपाल प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ :
१) बैंकिङ एप भित्र जानुहोस्
२) माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्नुहोस्
३) ‘बिल पेमेन्ट’ मा छनोट गर्नुहोस्
४) ‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्नुहोस्
५) विवरण भर्नुहोस्
६) बैंकको साइन इन गर्नुहोस्
७) प्राप्त भएको OTP/eTAC राख्नुहोस्
८) लोड पूरा गर्नुहोस्