काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा सञ्चालन भइरहेको कथित नेटवर्किङ ठगीमा फसेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।
राजदूतावासका अनुसार आकर्षक रोजगारी तथा आर्थिक लाभको प्रलोभनमा पारेर नेपाली नागरिकहरूलाई नेटवर्किङ व्यवसायको नाममा भारत लगिएको थियो । प्राप्त सूचनाका आधारमा उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय, नेपाल प्रहरी तथा गैरसरकारी संस्था KIN India सँगको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको हो ।
उद्धार गरिएका नेपालीमध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन् । उनीहरूलाई जेठ १६ गते उद्धार गरी रुपन्देही जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको राजदूतावासले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा उद्धार गरिएकामध्ये ६ महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ । नेपाली राजदूतावासले उद्धार कार्यमा सहयोग पुर्याउने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, KIN India तथा अन्य सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
राजदूतावासले नेपाल सरकार तथा भारतस्थित नेपाली नियोगहरू नेपाली नागरिकको सुरक्षा र संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रलोभनका नाममा हुने ठगीबाट सचेत रहन सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।

आईसीटी समाचार