काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (Public Procurement Monitoring Office) को विद्युतीय खरीद प्रणाली (e-GP System) मा अनधिकृत पहुँच गरी ठेक्का सम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (Central Investigation Bureau Nepal) ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा रहेका छन् ।
यसअघि नै ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्ताव सम्बन्धी कागजातमा हेरफेर गरेको आरोपमा थप ६ जनालाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई काठमाडौंसहित विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
अनुसन्धानका क्रममा आरोपितहरूले बोलपत्र खोलिनुअघि नै आर्थिक प्रस्तावका कागजात परिवर्तन गरी ठेक्का प्रक्रियालाई प्रभावित पार्ने गरेको पाइएको सीआईबीको दाबी छ । यस घटनामा विद्युतीय कारोबार ऐन, २०६३ र संगठित अपराध निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
सरकारले सार्वजनिक खरीद प्रक्रियालाई पारदर्शी बनाउन ईजीपी प्रणाली लागू गरेपनि हालको घटनाले यसको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
आईसीटी समाचार