भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा लेनदेन सेवा प्रालि कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।
स्मार्ट क्यूआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास गरिएको छ ।