कीवर्डहरू -

इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्‍यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण

इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्‍यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण

इटालियन पत्रिका इल फोलियोले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा तयार गरिएको संस्करण प्रकाशित गरेको छ । पूर्ण रूपमा एआईबाट तयार गरिएको संस्करण प्रकाशित गर्ने इल फोलियो विश्वकै पहिलो संस्था भएको दावी गरिएको छ । 

चार पृष्ठको विशेष संस्करण पत्रिकाको नियमित ब्रोडशीट संस्करणसँग संलग्न गरिएको थियो । गत मंगलबारदेखि अनलाइन तथा छापाको रूपमा एआई संस्करणलाई उपलब्ध गराइएको छ । इल फोलियोका सम्पादक क्लाउडियो सेरासाले एआई संस्करणमा समावेश भएका सम्पूर्ण लेख, शीर्षक तथा सामग्री एआईले तयार गरेको जानकारी दिएका छन् । 

उनले पत्रकारको भूमिका एआईलाई प्रश्न सोध्ने र प्राप्त उत्तर पढ्नेमा सीमित हुन सक्ने गार्जिएनसँग बताएका छन् । एआईले पत्रकारिता र दैनिक कार्यमा पार्ने प्रभाव बारे थाहा पाउन एक महिना लामो प्रयोगको रूपमा यो परीक्षणको थालेको पत्रिकाको भनाइ छ । यो प्रयोग त्यस्तो समयमा गरिएको हो, जतिबेला समाचार संस्थाहरू एआई कसरी प्रयोग गर्ने भन्ने विषयमा संघर्ष गरिरहेका छन् ।

च्याटजीपीटी एआईबाट तयार गरिएको विशेष संस्करणमा विभिन्न समाचार समावेश गरिएका छन्, जसमा ट्रम्प समर्थक इटालियनहरूको विषयमा एउटा लेख प्रकाशित गरिएको छ । उक्त लेखमा उनीहरूले ‘क्यान्सिल कल्चर’ को विरोध गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित दोहोरो व्यवहारलाई समर्थन गर्ने प्रवृत्तिबारे चर्चा गरिएको छ ।

त्यस्तै, अर्को समाचारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्बन्धी सामग्री समावेश छ, जसमा उनले पछिल्लो २० वर्षमा गरेका सम्झौता उल्लङ्घन तथा प्रतिबद्धताहू भंगका घटनाहरू प्रकाश पारिएको छ ।

इटालियन अर्थतन्त्रसम्बन्धी अर्को लेखमा आयकर सुधारका कारण ७ लाख ५० हजार कामदारहरूको तलब वृद्धि भएको विवरण प्रस्तुत गरिएको छ । अन्तिम पृष्ठमा एआईले जेनेरेट गरेर सम्पादकलाई लेखेका चिठिहरू समावेश गरिएको छ, जसमा एउटामा एआईले भविष्यमा मानिसहरूलाई ‘युजलेस’ बनाउँछ कि भनेर सोधिएको छ ?

यसको एआईले दिएको उत्तरमा भनिएको छ, ‘एआई ठूलो आविष्कार हो । तर यसले अहिलेसम्म चिनी ठीक्कसँग मिलाएर कफी अर्डर गर्न जान्दैन ।’ इल फोग्लियो एआईले ‘वास्तविक अखबार’लाई प्रतिबिम्बित गरेको तथा यो समाचार, बहस र उत्तेजनाको उत्पादन भएको सेरासाले बताएका छन् ।

तर यो एउटा परीक्षण पनि थियो, जसले एआईले व्यवहारमा कसरी काम गर्न सक्छ भनेर देखाएको उनको भनाइ छ । एआईले पत्रकारितालाई समाप्त नपार्ने र बरू रचनात्मकता बढाउँदै मेसिनले गर्न सक्ने कामहरू नगर्ने बासी बसाल्नुपर्ने बताइएको छ ।