डोटी । बोगटान फुड्सिल गाउँपालिका १ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सञ्चालनमा आएको छ । सिमचौरअन्तर्गत छिडिखानदेखि घाराहाल्ना, खाल्टी र पान्सासम्म राष्ट्रिय प्रसारण लाइन पुगेसँगै स्थानीयका घर उज्यालो भएका हुन् ।
नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलअन्तर्गत तिखातर सबस्टेसनबाट बोगटान फिडरमार्फत उक्त क्षेत्रमा विद्युत् लाइन चार्ज गरिएको हो । पहिलो चरणमा वडा नं. १ का करिब ५६ घरधुरीमा विद्युत् सेवा पुगेको वडा अध्यक्ष खेम घर्ती मगरले जानकारी दिए ।
लामो समयको प्रतीक्षापछि गाउँमा विद्युत् पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । विद्युत् विस्तारसँगै दैनिक जीवन सहज हुनुका साथै सञ्चार, शिक्षा र साना उद्योग-व्यवसायजस्ता आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, डोटी वितरण केन्द्रले विद्युत् लाइन चार्ज भइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विद्युत्का पोल तथा स्टेक (टेको) नछुन र पोलमा आगो वा झिल्का देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको छ ।
विद्युतीय समस्या परेमा तिखातर सबस्टेसन (९८६१९७४७५५), मानबहादुर साउद (९८६८४०३७९७) वा वडा अध्यक्ष खेम घर्ती मगर (९८४८६४२०२४) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
गाउँमा राष्ट्रिय विद्युत् लाइन पुर्याउन सहयोग गर्ने विद्युत् प्राधिकरण, जनप्रतिनिधि र प्राविधिक टोलीलाई स्थानीयवासीले धन्यवाद ज्ञापन गरेका छन् ।
आईसीटी समाचार