अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । राष्ट्रपति ट्रम्पको मिहिनेतका कारण टिकटक पुन फिर्ता आएको कम्पनीले जनाएको छ । टिकटक अमेरिकामा बन्द भएको १२ घण्टा पनि नबित्दै पुनः सञ्चालनमा आएको हो ।
‘हाम्रो सेवा प्रदायकहरूसँगको सहमति अनुसार, टिकटक सेवा पुनःस्थापनाको प्रक्रियामा छ,’ कम्पनीले वक्तव्यमा भनेको छ, ‘हामी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पलाई १७ करोडभन्दा बढी अमेरिकी र ७० लाखभन्दा बढी साना व्यवसायलाई टिकटक प्रदान गर्न कुनै सजाय नहुने स्पष्टता र सुनिश्चितता उपलब्ध गराएकोमा धन्यवाद दिन्छौं ।’
आइतबारबाट कार्यान्वयनमा आउने कानूनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई एप बेच्न बाध्य पार्ने वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध लगाउने व्यवस्था गरेको थियो । यसै कानूनले अमेरिकी कम्पनीहरूलाई एपको वितरण, मर्मतसम्भार, वा अद्यावधिक गर्न समर्थन गर्न पनि गैरकानुनी बनाएको थियो।
डोनाल्ड ट्रम्प राष्ट्रपति-निर्वाचित भएर कार्यभार ग्रहण गर्न लागिरहेका बेला, राष्ट्रपति जो बाइडेनको ह्वाइट हाउस र न्याय विभागका अधिकारीहरूले कानूनको कार्यान्वयन ट्रम्प प्रशासनमा नै छोड्ने बताएका थिए ।
तर शनिबार राति एपले काम गर्न छोड्यो र एप्पल र गुगल प्ले स्टोरबाट हटाइएको थियो । तर, आइतबार बिहान राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले प्रतिबन्धलाई ढिला गर्नका लागि कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका थिए ।
‘कानूनको प्रतिबन्धहरू लागू हुनु अघिको अवधि बढाउनको लागि म सोमबार एक कार्यकारी आदेश जारी गर्ने । जसले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न सम्झौता गर्न सक्छौ,’ ट्रम्पले लेखेका छन्, ‘यो आदेशले टिकटक बन्द हुनबाट जोगाउन मद्दत गर्ने कुनै पनि कम्पनीको लागि कुनै दायित्व हुने छैन भन्ने कुरा पनि पुष्टि गर्नेछ ।’
ट्रम्पको यो आश्वासन टिकटक र यसको सेवा प्रदायकहरूका लागि पर्याप्त देखिएको थियो । तर यसमा सबै कानुन निर्माता भने सहमत छैनन् । रिपब्लिकन सिनेटर टम कट्टनले कम्युनिस्ट-नियन्त्रित टिकटकलाई होस्ट, वितरण, सेवा, वा अन्य कुनै पनि तरिकाले सहयोग गर्ने कुनै पनि कम्पनीले सयौं अर्ब डलरको विध्वंसकारी दायित्व सामना गर्न सक्ने बताएका थिए ।
टिकटकले अमेरिकामा टिकटकलाई सञ्चालनमा राख्न दीर्घकालीन समाधानका लागि राष्ट्रपति ट्रम्पसँग काम गर्ने बताएको छ ।
ट्रम्पको आदेशसँगै टिकटकको होस्टिंग प्रदायक, ओर्याक र यसको सीडीएन साझेदार अकामाइले सेवा पुनर्स्थापित गरेको छ । यद्यपि, गूगल प्लेट स्टोर र एप्पल एप स्टोरेमा एप उपलब्ध नभएको बताइएको छ ।