कीवर्डहरू -

काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी

काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी

काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षामा नयाँ चुनौती थपेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको तथ्यांक अनुसार चैत महिनाभरि मात्रै साइबर अपराध र ठगीका २६१ वटा उजुरी दर्ता भएका छन्, जसमा अनलाइनमार्फत हुने ठगी प्रमुख रूपमा देखिएको छ ।

प्रहरीका अनुसार अनलाइन किनमेलको नाममा गरिने ठगी सबैभन्दा बढी रहेको छ, जसअन्तर्गत १०० वटा उजुरी परेका छन् ।

त्यस्तै, ओटीपी दुरुपयोग र सामाजिक सञ्जाल वा इमेलमार्फत अकाउन्ट ह्याकिङका ४० वटा घटना दर्ता भएका छन् । पार्सल वा उपहार पठाउने प्रलोभन देखाएर गरिने ठगीका ३० तथा वैदेशिक रोजगारीको आश्वासन दिएर ठगिने घटनाका १५ वटा उजुरी परेका छन् ।

यससँगै पछिल्ला दिनहरूमा टेलिग्राममार्फत टास्क पूरा गर्दा आम्दानी हुने भन्दै गरिने ठगी, अनलाइन रोजगारीको झुटो अफर तथा कोठा खोज्ने बहानामा हुने ठगीजस्ता नयाँ तरिकाहरू पनि फैलिँदै गएका छन्, जसले सर्वसाधारणलाई थप जोखिममा पारेको छ ।

यस्ता घटनालाई नियन्त्रणमा लिन र नागरिकलाई सचेत बनाउन प्रहरीले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ‘समुदाय–प्रहरी साझेदारी’ अभियान अन्तर्गत चैत महिनामा मात्रै २६९ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ, जसबाट १३ हजार १२५ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

प्रहरीले समुदायस्तरमा २३७ वटा कार्यक्रममार्फत लैङ्गिक हिंसा, साइबर सुरक्षा, लागूऔषध दुरुपयोग र चोरी नियन्त्रणका विषयमा जानकारी प्रदान गरेको जनाएको छ ।

त्यस्तै, विद्यालय लक्षित १७ वटा विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरी १ हजार ४४३ विद्यार्थीलाई साइबर सुरक्षा, ट्राफिक नियम र लागूऔषधविरुद्ध सचेत बनाइएको छ ।

प्रहरीका अनुसार यस्ता कार्यक्रमहरूले अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ भने नागरिकलाई डिजिटल माध्यम प्रयोग गर्दा सजग रहन आग्रह गरिएको छ ।