काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस । हरेक वर्ष नोभेम्बर २१ तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । टेलिभिजन प्रविधि वा उपकरणको उत्सवमा मात्र सीमित नभई समाज, निर्णय प्रक्रिया, जनचेतना र अन्तर्राष्ट्रिय समझदारी अभिवृद्धिमा टेलिभिजनले पुर्याएको योगदानको सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ ।
सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै हरेक वर्ष नोभेम्बर २१ लाई ‘विश्व टेलिभिजन दिवस’का रूपमा मनाउने घोषणा गरेको थियो । त्यसअघि नोभेम्बर २१ र २२, १९९६ मा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो ‘विश्व टेलिभिजन फोरम’ आयोजना गरिएको थियो ।
उक्त फोरममा विश्वभरका सञ्चारकर्मी, प्रसारक तथा विज्ञहरूले टेलिभिजनको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका थिए । सोही फोरमको पहिलो दिनको स्मरणमा नोभेम्बर २१ लाई यो दिवसका रूपमा चयन गरिएको हो ।
विश्व टेलिभिजन दिवस मनाउने प्रस्ताव पारित गर्ने क्रममा केही देशले विश्वका धेरै स्थानमा अझै पनि टेलिभिजनको पहुँच नपुगेको र रेडियोजस्ता सञ्चारमाध्यमको भूमिका अझ महत्त्वपूर्ण रहेको तर्क गर्दै मतदानमा भाग लिएका थिएनन् । यद्यपि, विश्वव्यापी सञ्चार र जनमत निर्माणमा टेलिभिजनको प्रभावकारी भूमिकालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले यस दिवसलाई मान्यता दिएको थियो ।
द्वन्द्व, शान्ति र सुरक्षाका चुनौती, आर्थिक तथा सामाजिक मुद्दा र विश्वव्यापी घटनाक्रमलाई दृश्य र ध्वनिसहित सर्वसाधारणसम्म पुर्याउन टेलिभिजनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । यसले जनचेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक बहस र निर्णय प्रक्रियालाई समेत प्रभावित पार्ने गरेको छ ।
शान्ति, सुरक्षा, आर्थिक तथा सामाजिक विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरूको प्रसारण तथा आदानप्रदानलाई प्रोत्साहन गर्नु यस दिवसको मुख्य उद्देश्य हो ।
दृश्य सञ्चारमाध्यमको प्रभाव जति व्यापक हुन्छ, त्यसको सत्यतथ्य, सन्तुलित र जिम्मेवार प्रस्तुति गर्ने दायित्व पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । विशेष गरी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिरहेको वर्तमान अवस्थामा विश्वसनीय पत्रकारिता, तथ्यजाँच र मिडिया साक्षरताको महत्त्वबारे विमर्श गर्ने अवसरका रूपमा पनि यो दिवसलाई लिइन्छ ।
प्रविधिको विकाससँगै टेलिभिजनको स्वरूप र प्रयोगमा समेत व्यापक परिवर्तन आएको छ । कुनै समय एकतर्फी प्रसारणमा सीमित रहेको टेलिभिजन अहिले स्मार्ट टिभी, इन्टरनेट, स्ट्रिमिङ प्लेटफर्म र अन-डिमान्ड भिडियो सेवासँग जोडिएको छ ।
परम्परागत प्रसारण र डिजिटल स्ट्रिमिङबीच प्रतिस्पर्धा र सहअस्तित्व कायम रहेपनि ठूला घटनाको प्रत्यक्ष प्रसारण, समाचार तथा दृश्य सामाग्री उपभोगमा टेलिभिजन अझै प्रभावशाली सञ्चारमाध्यमका रूपमा रहेको छ ।
विश्व टेलिभिजन दिवसले बदलिँदो प्रविधिको युगमा टेलिभिजनको भूमिका, विश्वसनीय सूचना प्रवाह र जिम्मेवार सञ्चारको आवश्यकतालाई पुन: स्मरण गराउँछ ।
आईसीटी समाचार