आगामी अप्रिल ४ र ५ तारिख अर्थात चैत २२ र २३ गते काठमाडौंको वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको छ । वर्डप्रेस तथा समग्र सूचना-प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम आयोजना हुन लागेको हो ।
यस वर्षको वर्डक्याम्प नेपाल ‘जोडिनुहोस्, योगदान दिनुहोस् र उत्सव मनाउनुहोस्’ भन्ने नारासहित आयोजना हुँदैछ । कार्यक्रममा वर्डप्रेस सम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूका प्रदर्शन, र विभिन्न कार्यशालाहरूको आयोजना हुनेछ ।
कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरु उपस्थित हुनेछन् । कार्यक्रमको पहिलो दिन वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।
सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् । यो दिन टिम लीडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन् । यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर-प्रोग्रामर दुवै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ ।
कार्यक्रमको दोस्रो दिन वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ । वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि उपयोगी हुने बताइएको छ । यसैदिन वर्डप्रेस वर्कशपको पनि हुनेछ, जसमा कुनै विषय वस्तुलाई आधार मानेर वर्डप्रेसमा त्यस सम्वन्धित वेभसाइट तयार गरिने छ ।
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्डप्रेसप्रेमीहरूले भाग लिन सक्नेछन् । वर्डक्याम्प नेपाल २०२५ वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम हो । वर्डप्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण छ ।
उक्त सम्मेलनमा सहभागिताको लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला हुने बताइएको छ । यस बारे थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिने छ ।