कीवर्डहरू -

शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक

शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक

सरकारले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को असोज १ गतेको निर्णयबाट स्वीकृत आकस्मिक कार्ययोजना मङ्गलबार सार्वजनिक गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्चुअल कार्यक्रममार्फत आकस्मिक कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिनु हुँदै शैक्षिक सत्रलाई व्यवस्थित गर्ने नै यसको मुख्य उद्देश्य रहेको बताए ।

कोरोनाका कारण विद्यालय शिक्षामा परेको असरलाई सम्बोधन गर्न कार्ययोजना स्वीकृत गरिएको जनाइएको छ । यसअघि सरकारले जारी गरेका सिकाइ सहजीकरणसम्बन्धी निर्देशिकाको सहज कार्यान्वयन र थप स्पष्टताका लागि आकस्मिक कार्ययोजना ल्याइएको जनाइएको छ ।

स्थानीय सरकारमार्फत यसलाई प्रभावकारी कार्यान्वयन गर्ने योजना बनाइएको छ । कोरोनाबाट उत्पन्न परिस्थितिलाई एकीकृत रूपमा सम्बोधन गर्न जरुरी भएकोले सम्बद्ध निकायसित छलफल गरी कार्ययोजना सार्वजनिक गरिएको हो ।

कार्ययोजनाले बसाइ स्थानान्तरण भएका विद्यार्थीको तथ्याङ्क सङ्कलन, पाठ्यपुस्तकको उपलब्धता तथा शिक्षकको कार्यस्थलमा उपस्थितिलाई प्राथमिकता दिएको जनाइएको छ ।

अहिलेको अवस्थामा शिक्षकको क्षमता विकासको विषय पनि मुख्य हुने शिक्षा मन्त्री पोखरेलको भनाइ छ । प्रविधिमार्फत विद्यार्थी तथा शिक्षकलाई जोड्ने कुरालाई मुख्य कार्ययोजना बनाइएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयसितको समन्वयमा यसलाई अगाडि बढाइने जानकारी मन्त्री पोखरेलले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।