कीवर्डहरू -

डिशहोममा गाभियो प्रभु टिभी

डिशहोममा गाभियो प्रभु टिभी

डिश मिडिया नेटवर्कमा प्रभु टिभी र इन्टरनेट गाभिएको छ । करिब १ महिना अगाडि डिशहोमले यसका लागि सम्झौता गरेको हो ।

डिशहोमले प्रभु टिभी र इन्टरनेट खरिद गरेपछि अब डिशहोमकै नामबाट ब्राण्डिङ गरिने छ । डिशहोमले प्रभु टिभी र इन्टरनेट खरिद गरेपछि अहिले माइग्रेसनको काम भइरहेको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

प्रभु टिभी, इन्टरनेट र आईपीटीभी यसअघि प्रभु ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएका थिए भने अब डिशहोम अन्तर्गत सञ्चालन हुनेछन् ।

प्रभु आईपी टिभी डिशहोम अन्तर्गत आएपनि हाल १-२ महिना प्रभु आईपी टिभीको ब्राण्डबाटै बिक्री हुने सापकोटाले आइसिटी समाचारसँग बताए ।

प्रभु इन्टरनेटका ५० प्रतिशत ग्राहक डिशहोम फाइबर नेटमा माइग्रेट भइसकेको उनले जानकारी दिए । ‘लकडाउनले गर्दा माइग्रेसनको काम ढिलो भएको हो,’ सापकोटाले आइसिटी समाचारसँग भने, ‘लकडाउन सकिएको हप्ता १० दिनमा माइग्रेसन सकिन्छ । अहिले पनि हामीले दिनमा १-२ वटा माइग्रेट गरिरहेका छौं ।’

अबको एकमहिना भित्र सबै माइग्रेट भइसक्ने सापकोटाले बताए । अहिले प्रभु आईपी टिभी र इन्टरनेटका करिब २० हजार ग्राहक छन् ।

प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचनको डिशहोममा समेत लगानी रहेको छ । भट्टचनको डिशहोममा लगानी रहेकाले यसलाई स्वभाविक नै मान्न सकिने उनले बताए ।

सापकोटाका अनुसार डिशहोमले प्रभु टिभी र इन्टरनेट खरिदगरेसँगै अब देशभर आफ्नो सेवा चाँडो विस्तार सम्भावना बढेको छ ।