कीवर्डहरू -

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक तथा सुचना प्रविधी विज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्व विद्यालय बीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उदेश्य रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पश्चात दुइ विश्वविद्यालय बीच विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदान-प्रदान हुनेछन ।

दुइवटै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धानसंग सम्बन्धित परियोजनाहरु अगाडी बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ । त्यसै गरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछन भने एक आपसमा विभिन्न शैक्षिक जानकारी तथा समाग्रीहरु आदान-प्रदान हुनेछन ।

यस सम्झौताको मर्म पुरा गर्न तथा दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु संचालन गर्न सक्नेछन ।

दुई विश्वविद्यालय बीच भएको यस सम्झौताको अवधि सम्झौता मितिदेखि पाँच बर्षको रहनेछ भने त्यस पश्चात स्वत नवीकरण हुनेछ साथै आपसी समझदारी र छलफल पश्चात लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि प्रख्यात छ भने स्वास्थ्य, संचार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो ।

यस सहकार्य पश्चात मध्यपश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।