महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंसिर २० गते संयुक्त अरब ईमिरेट्सको आयोजित वी प्रोटेक्ट ग्लोवल एलाएन्स ग्लोवल समिट २०२४ मा सम्बोधन गर्दै मन्त्री साहले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए ।
डिजिटल युगमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारका पहलहरूको चर्चा गर्दै मन्त्रीले सरकार बालबालिका र युवाहरूलाई जोगाउन बलियो नीति र कानून विकास गर्न लागेको जानकारी दिएका थिए । साथै अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न प्रभावकारी कार्यक्रम संचालन गर्न सरकार, गैरसरकारी संस्थाहरु, शैक्षिक संस्थाहरू र निजी क्षेत्रबीचको सहकार्यको महत्त्व आवश्यक रहेको पनि बताएका थिए ।
नेपालले वी प्रोटेक्ट को मोडेल नेशनल रेश्पोन्सलाई कार्य ढाँचाको रूपमा अपनाउने र बालबालिका अनलाइन सुरक्षाका लागि व्यापक र समन्वयित दृष्टिकोण लागू गर्ने जानकारी पनि मन्त्री साह सुदीले दिए ।
यस्तै चाईल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले सरकारको प्रतिबद्धताको स्वागत गर्दै प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिन र बालबालिका र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न पर्याप्त लगानी गर्न आग्रह गरेका छन् ।
नेपालमा बालबालिका र युवाहरूको सुरक्षाका लागि काम गर्ने अग्रणी संस्था चाईल्डसेफनेट वी प्रोटेक्ट ग्लोवल एलाएन्सको सदस्य हो । शिखर सम्मेलनको दोस्रो दिन, “माई भ्वाइस, माई फ्यूचर” शीर्षकको एउटा प्रभावशाली भिडियो प्रदर्शन गरिएको थियो जसमा नेपाल र नाइजेरियाका युवाहरूको आवाज समेटिएको थियो। भिडियोले बालबालिकाका लागि सुरक्षित डिजिटल संसार निर्माण गर्न तिनीहरूको दृष्टिकोण प्रस्तुत गरेको थियो।
वी प्रोटेक्ट ग्लोवल एलाएन्स र संयुक्त अरब एमिरेट्सको गृह मन्त्रालयले २०८१ मंसिर १९ र २० गते आवु धावीमा ग्लोवल समिट २०२४ को आयोजना गरेको थियो । सम्मेलनले ८०० भन्दा बढी प्रतिनिधिहरूलाई भौतिक रूपमा र अनलाइन दुबै माध्यमबाट सहभागी गराउँदै बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी महत्त्वपूर्ण विषयहरूमा छलफल गरेको थियो।