काठमाडौं । कल्पना गर्नुहोस्, एक बिहान तपाईंलाई थाहा भयो कि इमेल, ह्वाट्सएप मेसेजिङ, कलिङ, ब्राउजिङ, इन्टरनेट मिडिया सबै बन्द भएका छन् । सोच्नुहोस्, जीवन कति कठिन होला ! केही दशकअघि मानिसहरू यी सबै सुविधाबारे अनभिज्ञ थिए । भाइरल भिडियो, रिल्स, मिम्स र निरन्तर स्क्रोलिङसँग कसैको कुनै सम्बन्ध थिएन ।
वास्तवमा, यस्ता चमत्कारिक परिवर्तनहरूको आधार करिब साढे तीन दशकअघि तयार भएको थियो, जब संसार पहिलो पटक वर्ल्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) सँग परिचित हुँदै थियो । आज हामी त्यस्तो चरणमा पुगेका छौँ, जहाँ ग्याजेट्सहरूले तपाईंको सुत्ने उठ्ने समयअनुसार अलार्म सेट गर्छन्, स्मार्टवाचहरूले हार्ट अट्याकको संकेत पहिचान गरेर मानिसहरूको ज्यान समेत बचाइरहेका छन् । केही वर्षअघिसम्म यो सबै साइन्स फिक्सन जस्तो लाग्थ्यो । अहिले इन्टरनेट अफ थिङ्स (आइओटी) ले हाम्रो वास्तविक जीवनलाई तीव्र रूपमा डिजिटल बनाइरहेको छ ।
इन्टरनेट सामान्य सञ्चार सञ्जालभन्दा धेरै अगाडि बढेर आधुनिक जीवनको मेरुदण्ड बनिसकेको छ । यसले हाम्रो सिकाइ, काम, किनमेल, यात्रा, सञ्चार र स्वास्थ्य हेरचाह गर्ने तरिकालाई प्रत्येक दिन परिवर्तन गरिरहेको छ । जसरी इन्टरनेटले अर्बौँ मानिस र डिभाइसहरूलाई आपसमा जोडेको छ, त्यसले यसलाई मानव इतिहासको एक महत्वपूर्ण उपलब्धिको रूपमा स्थापित गरिसकेको छ ।
बदलिँदै गएको इन्टरनेटको संसार
बीसौँ शताब्दीको नवौँ दशकमा सर्न (युरोपियन काउन्सिल फर न्युक्लियर रिसर्च) को एउटा कोठामा टिम बर्नर्स-ली ले वर्ल्ड वाइड वेबको कोड लेखिरहेका बेला सायद उनलाई पनि थाहा थिएन कि उनले आधुनिक जीवनको इतिहासलाई नयाँ मोड दिन लागेका छन् । वर्ल्ड वाइड वेब नाम राखिनुअघि उनले यसलाई मेश भनेका थिए ।
सुरुआती दिनहरूमा वेबमा तस्बिरहरू लाइन-बाइ-लाइन लोड हुन्थे । कहिले काहीँ प्रक्रिया यति स्लो हुन्थ्यो कि तपाईंले खाना खाइसक्दा पनि पृष्ठ पूरा खुल्दैनथ्यो । आज भने विश्वमा १.१ अर्बभन्दा बढी वेबसाइट छन् ।
त्यस्तै, वेब ब्राउजरहरूको यात्रा पनि निकै रोचक छ । मोजाइक पहिलो ब्राउजर थियो । त्यसपछि नेटस्केप नेभिगेटर र इन्टरनेट एक्सप्लोरर हुँदै यो यात्रा क्रोम, फायरफक्स र एज जस्ता आधुनिक ब्राउजरसम्म पुगेको छ ।
एक समय वेबसाइटहरू अत्यन्त साधारण देखिन्थे । अहिले तिनै वेबसाइटहरूले रियल-टाइम म्युजिक, गेम स्ट्रिमिङ र विभिन्न डिजिटल सेवाहरू सञ्चालन गरिरहेका छन् । आज त वेबमै बसेर एआईसँग कुराकानी गर्न सकिन्छ ।
सबैका लागि उपयोगी बनेको इन्टरनेट
स्मार्टफोनका कारण आज इन्टरनेट सेवाहरू हरेक समय उपलब्ध छन् । हजारौँ किलोमिटर टाढा रहेका परिवारहरू भिडियो कलमार्फत कुराकानी गर्छन् । विद्यार्थीहरूले अनलाइन माध्यमबाट अध्ययन पूरा गरिरहेका छन् ।
व्यापारिक संसार विभिन्न टाइम जोनमा बसेर पनि इन्टरनेटकै माध्यमबाट सञ्चालन भइरहेको छ । गाउँको एउटा सानो व्यवसायीले पनि आफ्ना उत्पादनहरू ई-कमर्स प्लेटफर्ममार्फत विश्वभर बेच्न सक्छ ।
ग्राहकहरूले मूल्य तुलना, उत्पादन समीक्षा र केही मिनेटमै अनलाइन खरिद गर्न सक्छन् । रिमोट वर्क सामान्य बन्दै गएको छ । डिजिटल पेमेन्ट र अनलाइन बैंकिङले वित्तीय कारोबारलाई छिटो, सुरक्षित र सहज बनाइरहेका छन् ।
इन्टरनेट मिडिया प्लेटफर्महरूले विश्वव्यापी समुदाय निर्माण गरिरहेका छन्, जहाँ मानिसहरूले आफ्ना विचार, संस्कृति र सिर्जनशीलता साझा गरिरहेका छन् । कन्टेन्ट क्रिएटर, एजुकेटर र म्युजिसियनहरूले लाखौँ मानिसमाझ सजिलै आफ्नो पहिचान बनाउन सफल भएका छन् । यो इन्टरनेटको विस्तार र समृद्धिको प्रत्यक्ष परिणाम हो ।
स्मार्ट बन्दै गएको जीवन
इन्टरनेटको सबैभन्दा ठूलो सफलतामध्ये एक हो इन्टरनेट अफ थिङ्स (आइओटी) । यसले इन्टरनेटमार्फत विभिन्न मेसिन र डिभाइसहरूलाई आपसमा जोड्ने काम गर्छ ।
आइओटी डिभाइसहरू सेन्सर, सफ्टवेयर र कम्युनिकेसन सिस्टमको माध्यमबाट जोडिएका हुन्छन् । यी उपकरणहरूले मानिसको निर्देशन पर्खिनुभन्दा पनि रियल-टाइम डाटाको आधारमा निर्णय लिन सक्छन् । आज विश्वभर अर्बौँ आइओटी उपकरणहरूले मानिसहरूको जीवनलाई अझ सुरक्षित, स्मार्ट र सुविधाजनक बनाइरहेका छन् ।
स्मार्ट होम
तपाईं कोठाबाट बाहिर निस्कँदा लाइट आफै बन्द हुन्छ । थर्मोस्ट्याटले मौसमअनुसार तापक्रम मिलाउँछ र सिक्युरिटी क्यामेराहरूले घरधनीलाई तुरुन्त अलर्ट पठाउँछन् ।
अस्पताल
आज धेरै अस्पतालहरूमा वियरेबल डिभाइस प्रयोग भइरहेका छन्, जसले बिरामीको हार्ट रेट, ब्लड प्रेसर, अक्सिजन लेभल र निद्राको ढाँचा निरन्तर निगरानी गर्छन् । डाक्टरहरूले रियल-टाइम जानकारी पाएर आपत्कालीन अवस्थामा छिटो निर्णय लिन सक्छन् ।
कृषि
स्मार्ट खेती अझै प्रारम्भिक चरणमा भएपनि यसको सम्भावना अत्यन्त ठूलो छ । किसानहरूले माटोको आर्द्रता मापन गर्ने सेन्सर, मौसम निगरानी स्टेशन र अटोमेटिक सिँचाइ प्रणाली प्रयोग गरेर पानी बचत गर्दै उत्पादन बढाउन थालेका छन् ।
म्यानुफ्याक्चरिङ
विनिर्माण उद्योगहरू अहिले आइओटी-सञ्चालित मेसिनमा निर्भर हुँदै गएका छन् । यी मेसिनहरूले उपकरण बिग्रनुअघि नै मेन्टिनेन्स आवश्यक छ भनेर जानकारी दिन सक्छन्। यसले डाउनटाइम घटाउँछ र उत्पादकता बढाउँछ ।
यातायात
कनेक्टेड गाडी, जीपीएस नेभिगेसन, इन्टेलिजेन्ट ट्राफिक म्यानेजमेन्ट सिस्टम र लजिस्टिक्स ट्र्याकिङका कारण यातायात प्रणाली धेरै स्मार्ट भएको छ । यसले डेलिभरीलाई छिटो, सडकलाई सुरक्षित र इन्धन खपतलाई कम बनाइरहेको छ ।
आइओटीलाई सफल बनाउने प्रविधिहरू
सेन्सर र एक्चुएटर
सेन्सरहरूले तापक्रम, आर्द्रता, प्रकाश, चलायमान अवस्था वा दबाबजस्ता परिवर्तन पत्ता लगाउँछन् । एक्चुएटरहरूले भने भौतिक परिवर्तन गर्छन्, जस्तै भल्भ खोल्ने, बन्द गर्ने वा मोटर सञ्चालन गर्ने । जब सेन्सर र एक्चुएटरले मानिसको हस्तक्षेप बिना समस्या समाधान गर्न थाल्छन्, त्यहीँबाट वास्तविक अटोमेसन सुरु हुन्छ ।
कनेक्टिभिटी टेक्नोलोजी
आइओटी उपकरणबाट क्लाउडसम्म डाटा पठाउन इन्टरनेट जडान अनिवार्य हुन्छ । यसका लागि वाइ-फाइ, ब्लुटुथ, सेलुलर नेटवर्क लगायतका विभिन्न कनेक्टिभिटी टेक्नोलोजी प्रयोग गरिन्छ ।
क्लाउड कम्प्युटिङ
आइओटीबाट उत्पन्न विशाल डाटालाई क्लाउड कम्प्युटिङ प्लेटफर्ममा स्टोर, प्रोसेस र एनालाइज गरिन्छ । यिनले आवश्यक इन्फ्रास्ट्रक्चर र टुल उपलब्ध गराउँछन्, जसको प्रयोग गरेर आइओटी एप्लिकेसन विकास र डिप्लोय गर्न सकिन्छ ।
बिग डाटा एनालिटिक्स
आइओटीबाट आउने डाटा बुझ्न एडभान्स्ड एनालिटिक्स टुल आवश्यक पर्छ । यसमा मेसिन लर्निङ एल्गोरिदम, डाटा भिजुअलाइजेसन टुल र प्रेडिक्टिभ एनालिटिक्स मोडेल प्रयोग गरिन्छ ।
सुरक्षा र प्राइभेसी टेक्नोलोजी
आइओटी डिभाइस र तिनबाट उत्पन्न डाटालाई साइबर खतराबाट जोगाउन इन्क्रिप्सन, एक्सेस कन्ट्रोल र इन्ट्रुजन डिटेक्सन सिस्टमजस्ता प्रविधि प्रयोग गरिन्छ ।
जोखिम र चुनौतीहरू पनि उत्तिकै धेरै
सुरक्षा र प्राइभेसीको जोखिम
धेरै आइओटी डिभाइसहरू ह्याकिङ र अन्य साइबर आक्रमणप्रति संवेदनशील हुन्छन् । यसले व्यक्तिगत र संवेदनशील डाटाको सुरक्षा तथा गोपनीयतामा खतरा पुर्याउन सक्छ । यस्ता उपकरणहरूले ठूलो मात्रामा पर्सनल डाटा सङ्कलन गर्ने भएकाले प्राइभेसी सम्बन्धी चिन्ता बढिरहेको छ ।
इन्टरअपरेबिलिटीको समस्या
विभिन्न डिभाइसहरूले फरक–फरक स्ट्यान्डर्ड र प्रोटोकल प्रयोग गर्ने भएकाले तिनबीच मेसिन-टु-मेसिन कम्युनिकेसन सहज हुँदैन । यसले प्रणालीहरूबीच समन्वय गर्न कठिन बनाउँछ ।
डाटा ओभरलोड
आइओटी उपकरणहरूले अत्यधिक मात्रामा डाटा उत्पादन गर्छन् । त्यसको विश्लेषण गरेर उपयोगी जानकारी निकाल्नु ठूलो चुनौती हो, विशेष गरी आवश्यक एनालिटिक्स टुल र दक्ष जनशक्ति नभएका संस्थाहरूका लागि ।
लागत र जटिलता
आइओटी प्रणाली लागू गर्न हार्डवेयर, सफ्टवेयर र इन्फ्रास्ट्रक्चरमा ठूलो लगानी आवश्यक पर्छ । त्यस्ता प्रणालीहरूको व्यवस्थापन र मेन्टिनेन्स गर्न पनि विशेष सीप र विशेषज्ञता चाहिन्छ ।
नियामकीय र कानुनी चुनौती
जसरी आइओटी उपकरणहरूको प्रयोग बढ्दै गएको छ, त्यसैगरी डाटा सुरक्षा, प्राइभेसी, साइबर सुरक्षा र अन्य कानुनी विषयसँग सम्बन्धित चुनौतीहरू पनि बढिरहेका छन् । कम्पनीहरूले विभिन्न नियामकीय मापदण्ड र कानुनी नियमहरू पालना गर्नुपर्ने आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ ।
इन्टरनेटको विकास केवल एउटा प्रविधिको विकास होइन, यो मानव सभ्यताको काम गर्ने, सोच्ने र बाँच्ने शैलीमा आएको गहिरो परिवर्तन हो । वर्ल्ड वाइड वेबबाट सुरु भएको यात्रा आज एआई, क्लाउड कम्प्युटिङ, बिग डाटा, स्मार्ट डिभाइस र इन्टरनेट अफ थिङ्सको युगसम्म आइपुगेको छ ।
अब प्रश्न इन्टरनेट उपयोग गर्ने कि नगर्ने भन्ने होइन, बरु यसलाई सुरक्षित, जिम्मेवार, समावेशी र मानवहितमैत्री तरिकाले कसरी प्रयोग गर्ने भन्ने हो । सही नीति, बलियो साइबर सुरक्षा र डिजिटल साक्षरतासहित प्रयोग गर्न सकिएमा आइओटी र इन्टरनेटले भविष्यलाई अझ बुद्धिमान, सुरक्षित र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।
आईसीटी समाचार