त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बीएड आईसीटी)/ब्याचलर अफ इन्फर्मेसन, कम्प्युनिकेसन, टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्ष पढेका विद्यार्थीहरूले अब बैंकको सूचना प्रविधि अधिकृत पदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
त्रिविको शिक्षा संकायबाट बीएड आईसीटी/बीआईसीटीई अध्ययन गरेका विद्यार्थीले नेपाल राष्ट्र बैंकको सूचना प्रविधि अधिकृत पदमा प्रतिस्पर्धा गर्न नपाउने उजुरी परेपछि शिक्षाध्यक्षको कार्यालयले राष्ट्र बैंकलाई पत्रचार गर्दै कम्प्युटरसँग सम्बन्धित अधिकृतस्तरको विज्ञापन गर्दा बीएड आईसीटी र बीआईसीटीईलाई योग्यता राख्न अनुरोध गरेको हो ।
त्रिविले विज्ञान प्रविधि संकाय अन्तर्गत बीएड आईसीटी/बीआईसीटीई र बीसीए कोर्षलाई नराख्दा केही निकायले आईटी अधिकृत पदमा यी विषयलाई योग्यता नमान्ने गरेका थिए । तर त्रिविले सम्बन्धित निकायलाई पत्रचार गरेसँगै अब यो समस्या हल हुने छ ।
संकाय फरक भएपनि अन्य आईटी कोर्षमा जस्तै बीएड आईसीटी/बीआईसीटीई र बीसीएमा विषयहरू पढ्नुपर्छ ।
यसअघि २०७४ सालमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अधिकृत पदमा बीएड आईसीटीलाई न्युनतम शैक्षिक योग्यताको रूपमा लिने निर्णय गरेको थियो ।
यस्तै बीएड आईसीटी/बीआईसीटीई र बीसीए अध्ययन गरेका विद्यार्थीले सजिलै त्रिविको मास्टर्स इन इनफर्मेसन टेक्नोलोजी (एमआईटी) कोर्ष पढ्न पनि पाउने छन् ।