कीवर्डहरू -

रिटेल पेमेन्ट स्वीचबाट ६ महिनामा १८ सय अर्ब रुपैयाँ कारोबार

रिटेल पेमेन्ट स्वीचबाट ६ महिनामा  १८ सय अर्ब रुपैयाँ कारोबार

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्तसम्म १८ सय अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेसमार्फत हुने गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिटेल पेमेन्ट स्वीचअन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई मार्फत उपलब्ध रहेका छन् ।

रिटेल पेमेन्ट स्वीचमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार रु.२० लाखसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा रु.१ करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ।