कीवर्डहरू -

फेसबुक चलाउँदै गर्दा केदारनाथले पत्ता लगाए बग, पाए सवा लाख पुरस्कार 

फेसबुक चलाउँदै गर्दा केदारनाथले पत्ता लगाए बग, पाए सवा लाख पुरस्कार 

पोखराका युवा केदारनाथ पौडेलले फेसबुक म्यासेन्जरको सुरक्षाकमजोरी (बग) पत्ता लगाएर १ हजार ७० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । बग पत्ता लगाएवापत पौडेललाई फेसबुकले १ हजार ७० अमेरिकी डलर अर्थात १ लाख २४ हजार रूपैयाँ दिएको हो ।

म्यासेन्जर ग्रुपमा आफ्नो साथीसँग च्याट गर्दा यदी उसको निक नेम परिवर्तन गरेमा त्यसको जानकारी थर्ड पार्टीलाई जाने बग पत्ता लगाएको पौडेलले बताए ।

‘ग्रुपमा आफ्नो साथिसँग च्याट गर्दै हुनुहुन्छ भने र उसको निक नेम तुरून्तै परिवर्तन गर्नुभयो भने त्यसको नोटिफिकेसन थर्ड पार्टिलाई जान्थ्यो,’ उनले आइसिटी समाचारसँग भने, ‘जो व्यक्तिसँग च्याट गरिरहेको छ उसलाई जानुपर्ने नोटिफिकेसन उसलाई पनि जान्थ्यो । सँगसँगै अर्कोले पनि म्यासेज पठाइरहेको छ भने उसलाई पनि नोटिफिकेसन जान्थ्यो ।’

उनले करिब ३ महिना अगाडि यो बग रिपोर्ट गरेका थिए । बग पत्ता लगाएवापत फेसबुकले उनलाई १ हजार डलर रिवार्ड दिएको थियो । त्यसमा लामो समयसम्म सहयोग गरेको भनेर फेसबुकले थप ५० डलर दिएको थियो । त्यस्तै बग क्राउड अकाउन्टमा आएपछि थप २० डलर पाएको उनले बताए । यसरी सबै गरेर १ हजार ७० डलर रिवार्ड पाएको उनी बताउँछन् ।

\"\"

बग पत्ता लगाउन कुनै पनि प्रोग्रामिङ ल्याङवेज जानेको वा आईटी पढेको नै हुनुपर्छ भन्ने नभएको उनको भनाइ छ । उनले भने, ‘म पनि सामान्य एउटा प्रयोगकर्ता मात्रै हो । मैले कुनै प्रोग्रामिङ ल्याङ्वेज सिकेर वा आइटी पढेर बग पत्तालगाएको होइन् ।’