कीवर्डहरू -

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्लर इमेज स्क्याम’ भनिन्छ । यस स्क्याममा परेर धेरै मानिसहरू हैकिङको शिकार भइरहेका छन् । अब जानौं के हो यो स्क्याम र यसबाट जोगिन तपाईंले के–के सावधानी अपनाउनु पर्छ ।

यो स्क्यामको सुरुवात ह्वाट्सएपमा आएको एउटा अनजान नम्बरको सन्देशबाट हुन्छ, जसमा एउटा धमिलो (ब्लर) फोटो हुन्छ । साथमा त्यस्तो सन्देश लेखिएको हुन्छ जसले तपाईंको जिज्ञासा बढाउँछ — जस्तो, 'यो त तपाईको पुरानो फोटो हो हैन्? वा हेर्नु, यो त तपाई नै हौ जस्तो लाग्छ!' यस्ता सन्देश पढेपछि धेरैजसो मानिसहरू त्यो फोटो खोल्न खोज्छन् र यत्तिकैमा उनीहरू ठगीको जालमा फस्छन् ।

तपाईंले फोटोमा क्लिक गरेपछि, तपाईंलाई एउटा लिंकमा पठाइन्छ, जुन नक्कली वेबसाइटसँग जोडिएको हुन्छ । त्यस वेबसाइटमा तपाईंको बैंक डिटेल, ओटीपी वा व्यक्तिगत जानकारी मागिन्छ । केही अवस्थामा त यो लिंकले तपाईंको फोनमा भाइरस वा स्पाइवेयर इन्स्टल गरिदिन्छ, जसले तपाईंको फोन विस्तारै ह्याक गर्न थाल्छ ।

यसको नतिजा के हुन्छ भने तपाईंको बैंक खाता खाली हुन सक्छ, तपाईंका सोशल मिडिया अकाउन्टहरू हैक हुन सक्छन्, र तपाईंका व्यक्तिगत फोटो तथा डाटाहरू लिक हुन सक्छन् ।

यो स्क्यामको सबैभन्दा खतरनाक पक्ष भनेको यसले तपाईंका भावना र जिज्ञासालाई प्रयोग गरेर तपाईंलाई जालमा पार्ने प्रयास गर्छ । त्यसैले, कुनै पनि अनजान नम्बरबाट आएको सन्देश वा फोटोमा क्लिक गर्नु अघि सतर्क रहनु अत्यन्त आवश्यक छ ।