कीवर्डहरू -

डिजीहबले एकै ठाँउबाट फाइनान्सियल टेक्नोलोजी सेवा दिने इकोसिस्टम बनाएको छ- सीईओ ढकाल   

डिजीहबले एकै ठाँउबाट फाइनान्सियल टेक्नोलोजी सेवा दिने इकोसिस्टम बनाएको छ- सीईओ ढकाल   
बिपुल ढकाल । फोटोः आइसिटी समाचार

सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा हरेक वर्ष सयौं नयाँ कम्पनीहरु आउँछन् । त्यसमध्ये केहीले मात्र बजारमा प्रभाव पार्न सक्छन् । त्यस्तै एउटा सफल कम्पनीमा पर्छ ‘डिजिहब’ ।

जसको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रुपमा छन्, बिपुल ढकाल । ढकाल प्रविधि क्षेत्रमा स्थापित नाम हो । उनी ढेड दशकदेखि मुलुकका प्रमुख पेमेन्ट कम्पनीको अनुभव बटुल्दै अहिले डिजीहब हाँकिरहेका छन् ।

हामीले उनै ढकालसँग उनको प्रविधि क्षेत्रको यात्रा अनुभव र डिजीहबले नेपालमा के के गरिरहेको छ भन्ने बारेमा कुराकानी गरेका छौं ।

तपाईंसँग नेपालको प्रविधि क्षेत्रमा डेढ दशकको लामो अनुभव छ । तपाईं एकताका विदेशमा बसेर काम गर्ने सुरुसमेत कस्नु भएको थियो । पछि नेपालमै काम सुरु गर्नु भयो । तपाईंलाई के कुराले स्वदेशमै काम गर्ने बनायो ?

चेन्नई (भारत) मा स्नातक गर्दै मैले सफ्टवेयर तथा बजार व्यवस्थापन सम्बन्धी कामको अनुभव बटुल्न पाएँ । त्यहाँको वर्किङ कल्चर एकेडेमिक ज्ञानभन्दा महत्वपूर्ण छ ।

नेपाल आएर एफ्वान सफ्टमा काम सुरु गर्दा उताको अनुभवले धेरै सहयोग गर्यो । एफ्वानमा नयाँ भगिनी (सिस्टर अर्गनाइजेसन) संस्थाहरु निर्माण र व्यवस्थापन गर्ने दायित्व चुनौतिपूर्ण थियो । त्यहाँ प्राप्त सफलताको श्रेय टिमवर्क तथा वर्क कल्चरलाई दिनुपर्छ ।

करिब एक दशकपछि श्रीमती निशा अधिकारीको आग्रहमा अमेरिका वा क्यानडामा काम शुरु गर्न पाए दुबै जनाले पालैपालो पीएचडी गर्न सकिन्छ भन्ने थियो ।

हामीले तीन महिना ती दुई देशको बजार तथा अन्य कुरा बुझ्न भ्रमण गर्यौं । अन्तमा हामी आआफ्नो काम छोडेर नेपालमै नयाँ सोचमा काम गर्ने संघर्षपूर्ण निणर्यमा पुग्यौँ । सँगै काम गरिसकेका मित्रहरुसँग मिलेर ‘थ्री मङ्कस्’ व्यवस्थित गर्न लागियो ।

‘थ्री मङ्कस्’बाट अपेक्षित परिणाम पाउन लामो समय कुर्नुपर्ने बुझेपछि हामीले एसबी सोलुसन्स् बनायौ । यसका प्रोडक्टले बजार पाउन थाले । निशाले पनि ट्राभल एण्ड टुर्स सम्बन्धि काम शुरु गरिन् । यसरी करिब डेढ दशक बढि समयदेखि म प्रविधिको क्षेत्रमा संलग्न छु ।

यसैबीच लोकराज शर्मा, प्रताप श्रेष्ठ लगायतसँग सम्पर्क भयो । उहाँहरुको आग्रह एंवम् सक्रियतामा डिजिहबमा संलग्न भएँ ।

डिजीहबको बारेमा बताइदिनुस् न ।

नामबाटै प्रष्ट छ । यो एक किसिमको छानो हो, जहाँ धेरै मानिस बस्छन् वा आश्रय लिन्छन् । डिजिहब एक किसिमले त्यस्तै सबैलाई जोडेर राख्ने मुल छानो हो, जसमा विभिन्न कम्पनीहरु जोडिएर रहेका छन् । उनीहरु सबैको कामलाई व्यवस्थित र एकद्वार प्रणालीमा ल्याउने काम डिजिहबले गर्छ ।

नेपाली प्रविधिको क्षेत्रमा काम गर्नेले सबै कुरा समेटेर सम्पूर्ण सोलुसन दिन निकै कठिन छ । एक अर्काको सहयोग र सहकार्य जरुरी हुन्छ ।

के सहयोग र सहकार्य बेग्ला बेग्लै बसेर गर्न सकिदैन्थ्यो ?

सकिन्थ्यो । यहाँ मैले भन्ने कुरा बाँकी नै छ । त्यो के भने डिजिहबले सबै आवश्यक फानान्सियल टेक्नोलोजी सेवा एकै ठाँउबाट दिने भनेर विभिन्न कम्पनीहरुमार्फत इकोसिस्टम निर्माण गरेको छ । अहिले हामी हवमार्फत लोन मेनेजमेन्ट, पेमेन्ट सोलुसन्स् र हस्पिटालिटी आदिको विविध सेवा दिइरहेका छौं ।

डिजिहबले काम गर्न थालेको भर्खरै वर्ष दिन भएको छ तर आवद्ध कम्पनीहरु र संलग्न जनशक्तीको भने यसमा लामो अनुभव पनि जोडिएको छ ।

एउटा सामान्य किराना पसलदेखि ठुल्ठुला कर्पोरेट हाउसलाई सेवा दिने भनेर विभिन्न प्रोडक्ट बनाइएको छ । आवश्यक प्लेटफर्म पनि तयार भएपछि नै हामी सेवाग्राहीसम्म पुगेका हौँ ।

डिजिहबको फाइनान्सियल टेक्नोलाजी भनेको के हो ? प्रस्ट्याईदिनुस् न ।

यसलाई यसरी बुझ्दा सरल होला । हामीले नगद राख्दा, झिक्दा, ऋण लिदा छिनभरमै बैकबाट काम भएको देख्छौँ । त्यसरी सेवा दिन कुनै पनि संस्थाले विभिन्न कम्पनीहरुमार्फत बेग्लाबेग्लै सफ्टवेयरहरु जडान गर्नुपर्छ । डिजिहब ग्रुपले यही फाइनान्सियल टेक्नोलाजी सोलुसन दिन्छ ।

कामलाई सरल बनाउन इकोसिस्टम निर्माण गरेको हो  । यसमा आवद्ध कम्पनीहरुको दक्षता आ—आफ्नो क्षेत्रमा छ । जस्तो एसबी सोलुसन्स्ले ऋण ब्यवस्थापन तथा अटोमेसनको काम गर्छ ।

\"\"

पेमेन्टमा नेपाल पेमेन्ट सोलुसन्सले सघाउछ । यसरी यी दुबैलाई एक अर्काको सहयोग र सहकार्यको आवश्यक पर्छ । पहिला हामी एक अर्कालाई खोजेर वा बैंकले नै खोजिदिएर काम गथ्यौँ । अहिले हामी आफ्ना ग्राहकलाई कुनै झन्झट नपर्नेगरी एकद्वार प्रणाली (वानडोर सिस्टम) मा काम गर्छौँ ।

अहिले पेमेन्ट र लेन्डिङमा मात्र होइन हस्पिटालिटीमा पनि त्यस्तै काम गरिरहेका छौं । होटलहरुलाई एउटै प्लेटफर्ममा ल्याएर उनीहरुको बुकिङदेखि अरु सबै कामलाई डिजिटाइज्ड गर्ने काम सर्वनाम मार्फत भइरहेको छ ।

अहिलेसम्म अनलाइन सेवा नभएका र अटोमेसनमा नगएका समेतलाई डिजिटाइजेसन गर्ने र सेवा दिनेगरी हामी काम गरीरहेका छौँ । यस्ता अरु कामहरु पनि भईरहेका छन् । ती सबै काममा हामीलाई एक अर्काको सहयोग र सहकार्य आवश्यक पर्छ ।

उसो भए ति कम्पनीहरुलाई एकै ठाउँमा ल्याएर हब बनाएर काम गरिरहनु भएको छ ?

हो, हब बनाउने भनेको कम्पनी नै समाप्त भएको होइन तर आफ्नो नाम र कामको विशेषता कायम राख्दै डिजिहव ग्रुप अन्तरगत सहकार्य गर्ने गरी आवद्ध भएका हौँ ।

हबमा कुन कुन कम्पनी आवद्धछन् त ?

डिजिहब प्रालिमा एसबी सोलुसन्स्, नेपाल पेमेन्ट सोलुसन्स्, सर्वनाम, ऐकमटेक र अन्नपूर्ण मुख्य रुपले आवद्ध संस्था हुन् ।

त्यस्तै, हामीले अरु विभिन्न पीएसपी (मोबाइल वालेट), रेमिट्यान्स् कम्पनी जस्तासंस्थालाई पनि सफ्टवेयर सोलुसन्स्सँगै पेमेन्ट सोलुसन्स् र परामर्श दिदै वँहाहरुलाई बिजेनेस अनुसार इम्पावरमेन्ट गरिरहेको छौँ । साथै अरु विभिन्न संस्थाहरुसँग सहकार्य गरेर पनि काम गर्दै छौँ ।

यिनीबाटै फाइनान्सियल टेक्नोलाजीको सम्पुर्ण काम पुरा हुन्छ त ?

कुनै पनि काम हरेक किसिमले पुर्ण हुन त मुस्किल छ । हाम्रो प्रयास भने ती सबैलाई सरल र सहज बनाउने रहेको छ । आवश्यक पर्‍यो भने हबले अरु संस्थाहरुलाई पनि आवद्ध गर्न सक्छ ।

हामी आ—आफ्नो विशेषतासहित काम गर्ने बेग्ला बेग्लै संस्था हुदाँ कसैलाई नगद भुक्तानीको त कसैलाई प्लेटफर्मको आवश्यकता हुन्थ्यो । हवमा जोडिएपछि ग्राहकले बेग्लाबेग्लै संस्थासँग डिल गर्नु परेन । तैपनि केहि काममा अरुको पनि सहयोग आवश्यक पर्न सक्छ ।

अहिलेसम्म मुख्यरुपले के के काम भएका छन् ?

मुख्यरुपले हामीले नेपाली बजारमा धेरैभन्दा धेरै बैंक तथा बित्तीय संस्थामा पेमेन्ट र अटोमेसनको लागि आवश्यक सिस्टम एपीआईएम्एस् सोलुसन्स्, सर्भिस हव, क्रेडिट एक्स र इन्स्टा लोन सोलुसन्स्को कार्यान्वयन गर्ने काम भइरहेको छ ।

हामीसँग विविध क्षेत्रका संस्था र व्यवसायहरु जोडिएका छन् । जस्तो होटल, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाहरु जोडिएका छन् । हामी सहकारीहरुलाई अटोमेसन गर्ने काममा लागि परेका छौँ । छोटो समयमै ६-७ वटा लघुवित्तहरु पूर्ण रुपमा अटोमेसनमा गइसकेका छन् ।

झन्डै १ दर्जन अरुमा प्रारम्भिक काम हुदैछन् । हामी ब्रोकरको पेमेन्टदेखि सरकारको म्यानुअल गरिरहेको कामलाई समेत जोडेर एउटै ढोकाबाट सेवा दिने काम पनि गर्दै छौँ । यी सबै काम डिजिटल नेपालको अवधारणामा अगाडि बढिरहेको छ ।

हामी अनलाइन सामान किनबेच, हवाई तथा बस टिकट बुकिङ, होटल बुकिङ, स्कुल आदिको विविध कामलाई पनि सरल र सहज बनाउनका लागि काम गर्दैछौँ ।

यस्ता काम त नेपालमा अरुले पनि पहिलेदेखि गरिरहेका छन्, हैन र ?

छन्, किन नहुनु । अरुले पनि गरेका छन् । हामीले एकद्वार प्रणाली अन्तरगत हाम्रा सेवाग्राहीलाई सहज सेवा दिने प्रयास गरेका छौँ । हामी छोटो समयमै उल्लेखनीय सफलता तर्फ अग्रसर छौ ।

नेपाल सानो बजार भएको हुनाले यहाँ पतिस्पर्धा उच्च छ । राम्रो र सहज सेवा दिनेलाई मन पराइने विश्वास गरेका छौं । हामी काममा कुनै कमी नहोस् भनेर सचेत छौं ।

बजारमा तीव्र प्रतिस्पर्धा छ । बजारलाई तपाईंले कसरी हेर्नु भएको छ ?

यस क्षेत्रमा नेपालीसँग मात्र होइन विदेशी ठूला कम्पनीसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले स्तरीयता कायम गर्ने कुरामा हामी सजग छौँ ।

अमेरिका, क्यानडा, जापान आदि घुमेपछि नेपाली बजार पनि ठूलो छ भन्ने बुझें मैले । हिजो एउटा बाँसबारी जुत्ता कारखानाले नेपालीलाई जुत्ता पुर्‍याउन सक्थ्यो होला । आज दर्जन बढि त्यस्ता कारखानाले पचास प्रतिशत पनि बजारको माग पुरा गर्न सकेका छैनन् ।

टेलिफोन सेवा प्रदायक एन्टिसीसँगै अहिले अरु सेवा प्रदायक थपिए । बजार प्रतिस्पर्धी हुँदा हामीले सहज र राम्रो सुविधा पाएका छौं ।

सबै सरकारी, गैरसरकारी संघसंस्था र निकायलाई हाम्रो सेवाको आवश्यकता अझ बढेको छ । यस्तोमा हामी प्रतिस्पर्धामै हुर्किनु बढ्नु पर्छ ।

सफ्टवेयरको गुणस्तर कायम गर्ने, प्रतिस्पर्धी मूल्य राख्ने अनि बिक्री पछिको सर्भिस छिटो, छरितो र भरपर्दो बनाउँदा प्रतिस्पर्धीले  कुनै असर नपर्ने अनुभव सिकाएको छ ।

अन्तर्राष्ट्रिय संस्थासँग काम गर्दा नेपालीलाई फाइदा अथवा नोक्सान के हुन्छ ?

एक हातले ताली बज्दैन । अन्तर्राष्ट्रिय बजारमा हामीसँगै डिजिहव इन्टरनेशनल छ । जसको हेड क्वाटर डेनमार्कमा छ । उसले काम गरेको र गर्ने अन्य देशमा हामी सँगै हुन्छौं । यसरी उहाँहरुलाई भन्दा हामीहरुलाई बढी फाइदा हुने विश्वास गरेका छौं ।

उसोभए नेपाल र डेनमार्क बाहेक पनि कतै काम गर्ने योजना छ ?

पक्कै छ । नेपालमै इन्टरवालेट फन्ड ट्रान्सफरको काम अन्तिम चरणमा छ । शेयर ब्रोकरको कामलाई अटोमेसन र डिजिटाइजेसन गर्ने काम अन्तिम चरणमा छ । बाहिरी देशसँग सम्वन्धित हुण्डी व्यवसायलाई निरुत्साहित गर्ने गरी सफ्टवेयर बनाउने काम भईरहेको छ ।

भिसाकार्डसँग भएको समझदारी अनुरुप केही काम अगाडि बढिरहेको छ । त्यस्तै क्रसकन्ट्री एक्सचेन्ज अर्थात विदेशी पेमेन्ट इन्स्ट्रमेन्टस् जस्तै मोबाइल वालेट वा मोबाइल मनी प्रयोग गर्ने मान्छेले पनि नेपालमा पेमेन्ट र सेटलमेन्टको सेवा सुविधा लिन सकिने काम गर्दैछौं ।

त्यस्तै छिमेकी भारतमा क्युआर कोड प्रयोग गर्ने व्यक्तिले नेपालमा प्रयोग गर्न सक्दैन । नेपाली मोबाइल मनिले पनि भारतमा कारोबार गर्न सकिदैन । हामी यी र यस्ता अन्य सेवा सुविधामा पनि काम गर्दैछौं ।

यसका साथसाथै हामीहरुले अन्य अफ्रिकन कन्टिनेन्टस्, साउथ इस्ट एसिया र केहि युरोपियन देशहरुमा पनि सफ्टवेयर र सर्भिसेस विस्तार गर्दैछौँ ।

यी कामहरु कहिले प्रयोगमा आउन सक्लान् ?

समय किटान गर्न मुस्किल छ । प्रविधिको क्षेत्रमा मुद्रा तथा देशहरु संलग्न हने हुनाले सरकारी नियमन आवश्यक पर्छ । सरकारले समयमा निणर्य नगर्दा र नियमनका ऐन कानुनहरु नबनाईदिँदा कामहरु पछि पर्छन् ।

\"\"

क्रसकन्ट्री एक्सचेन्जको कामका लागि हामीले राष्ट्र बैंकसँग अनुमति पाएका पनि छौं । तर त्यतिमात्र पर्याप्त नहुन सक्छ । कार्यान्वयनको चरणमा समेत कतिपय समस्या देखापर्ने हुदाँ यति नै बेला गर्न सक्छौं भन्न गाह्रो छ ।

यस क्षेत्रमा राज्यको नीति निर्माणले ठूलो भूमिका खेलिरहेका हुन्छ । यस बेला सरकारले के गरिदिए सजिलो हुन्थ्यो जस्तो लाग्छ ?

सरकारले पनि एकद्वार प्रणालीबाट प्रविधि क्षेत्रलाई नियमन गर्दा राम्रो । नयाँ कम्पनीहरुलाई केही सुविधा र कर आदिमा छुट दिदा स्वदेशमै रोजगारीका सम्भावना बढ्दै जान्छन् ।

ऐन कानुन समयमै बनाउने, भएकालाई परिमार्जन गरिदिन आवश्यक छ । भाषणमा कर्जाको सुविधा घोषणा गर्ने, लिन जाँदा नपाइने हुनुहुदैन । सरकारले गर्नुपर्ने काम धेरै नै छ ।

अन्तमा, तपाईको बुबादेखि परिवारका अधिकांश सदस्य प्रविधिको क्षेत्रमा काम गरिरहनु भएको छ । पारिवारिक माहोलले तपाईंलाई कति सहयोग पुगेको छ ?

परिवारको योगदान नभई कोही पनि सफलताको खड्किलो चढ्न सक्दैन । मेरा पिताले मलाई कोर इन्जिनियरिङ्घ गराएपछि मात्र आइटी फिल्डमा उच्च अध्ययन गर्न सल्लाह दिनुभएको थियो ।

मेरा पिता डा. विमलकुमार शर्मा वर्तमान क्यान फेडेरेसनको संस्थापक अध्यक्ष भएजस्तै युएसएका संस्थापक अध्यक्ष बिनित कुमार शर्मा हुनुहुन्छ ।

पछि पहिलो प्राथमिकतामा इलोक्ट्रोनिक र कम्युनिकेसन पर्न गयो । मास्टर्स गर्न सबै चाजोपाँजो मिलाईदिन श्रीमतीको अझ ठूलो हात रह्यो ।

त्यसपछि नेपाल आएर काम गर्दा दौतरीहरु दाइ विश्वास ढकाल, अस्गर अलि र शुभास शर्मा जस्ता मित्रसँग काम गर्न र सिक्न पाएँ । नेपालमै रहनुभएका मेरा गुरुहरु र मेरा बुवाका मित्र एवं शुभ चिन्तकहरु जहिले पनि म प्रति स्नेहशील हुनुहुन्छ ।

मेरो कान्छो बुबासहित अन्य परिवार पनि यही प्रविधि क्षेत्रमा काम गर्नुहुन्छ । उहाँको सहयोग र प्रेरणाले यस क्षेत्रमा काम गर्न प्रेरित गरिरहन्छ ।