कीवर्डहरू -

काठमाण्डौ महानगरपालिकाले विभिन्न सार्वजनिक स्थलहरुमा फ्री वाईफाई सेवा दिने

काठमाण्डौ महानगरपालिकाले  विभिन्न सार्वजनिक स्थलहरुमा फ्री वाईफाई सेवा दिने

काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ ।

हनुमानढोका दरबार क्षेत्र , पशुपतिनाथ क्षेत्र , स्वयम्भु , बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे ।

अब कम्पनीले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्नेछ । यो कार्यमा लाग्ने सबै लगानी वर्ल्ड लिंकले नै गर्नेछ ।

यो सेवा सुरु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वाइफाइ अन गरेपछि स्वतः कनेक्ट हुने गरी व्यवस्था मिलाइनेछ ।

वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ ।

जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा , शंखपार्कमा २ वटा , वालाजु वाइसधारा उद्यानमा ७ वटा , स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा प्वाइन्ट हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना , शंखपार्कमा ५० देखि २०० जना , बालाजुमा २०० देखि ७०० जना , स्वयम्भूमा २०० देखि ३०० जना , बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् ।

यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी एकाइबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ । (अनलाइन खबरबाट)